बुटवल रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र जिल्लाका स्थानिय तहका प्रमुखहरुबीच छलफल भइरहेको छ। जिल्लामा बढ्दै गरेको कोरोना संक्रमण र नियन्त्रण तथा रोकथामका बारेमा बैठकमा छलफल भइरहेको छ। जिल्ला प्रसासन कार्यालयमा विहान ११ बजेदेखी छलफल चलिरहेको प्रसासन कार्यालयका प्रशासकिय अधिकत जनक थापाले जानकारी दिए।
रुपन्देहीमा पछिल्लो समयमा तिब्ररुपमा कोरोना संक्रमण बढिरहेको छ। रुपन्देहीमा सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ। शनिवार मात्र ३ सय १ जना संक्रमित थपिएका छन्। संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।
कोरोना संक्रमण बढ्दै गएपछि केही दिन अघि रुपन्देहीको बुटवल र भैरहवाका विद्यालयहरु बन्द भएका छन्। त्यसै गरी भिडभाडजन्य गतिविधिमा पनि प्रशासनले रोक लगाइसकेको छ । आजको बैठकले अरु स्थानिय तहका विद्यालय पनि बन्दको निर्णय गर्न सक्ने अनुमान गरिएको छ। त्यसै गरी कोरोना नियन्त्रणको लागि थप कडाइ हुन सक्ने पनि बताइएको छ।