भैरहवा - कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीमा निषेधाज्ञ गर्ने तयारी भइरहेको छ। निषेधाज्ञा जारी गर्नु अघि सरोकारवालाहरुलाई छलफलको लागि आज जिल्ला प्रसासन कार्यालयमा बोलाइएको छ । उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र स्थानिय तहका प्रमुखहरुलाई आज छुट्टा छुट्टै छलफलमा बोलाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए। त्यस्तै अपरान्ह सञ्चारकर्मीसँग समेत छलफल गरेर अर्को आदेश जारी गर्ने उनले बताए।
सोमबार सम्म जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुगेको छ। लक्षण सहितका संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। सोमबार साझ बसेको नेपाल सरकार मन्त्रीपरिषदको बैठकले पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने जिल्लामा निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई सदर गरेको छ ।
बैैठकले निर्णयलाई सदर गर्दै जिल्ला स्तरिय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र डिसीसीएमसीलाई लकडाउन वा निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको छ ।
आजको छलफलपछि कहिलेबाट लकडाउन वा निषेधाज्ञा लगाउने भन्ने विषयमा निर्णय लिइनेछ । संक्रमण बढ्दै गएपछि केही दिन अघि रुपन्देहीको सबै शैक्षिक संस्था बन्द गरिएको छ। सञ्चालित परिक्षा पनि अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ। । त्यसै गरी भिडभाडजन्य गतिविधिमा रोकलगाइ मंगलबारदेखी जिल्ला भित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू भएको छ ।