भैरहवा । फरार प्रतिवादी अप्रेसन कार्यक्रम अन्तर्गत कर्तव्य ज्यान मुद्धाको २ जना फरारलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
अपराध न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्धेश्यले बैशाख देखि जारी भएको यो कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कोरोना माहमारीको वावजुद जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका १९ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
कार्यलय अन्तर्गतको टिमले शुक्रबार र शनिबार कर्तव्य ज्यान अपराधमा २० बर्ष कैद सजाय भई हाल सम्म फरार रहेका जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.५ बस्ने राम लखन जैशवालको छोरा ३० वर्षिय ऋषिकेश जैशवाललाई घरबाट नै पक्राउ गरेको छ ।
लामो समय सम्म लुकिछिपी घरमा रही काम गर्दै आएका जयसवाल सहित ५ जनाले २०६९ साल बैशाख ७ गते लाला भन्ने मैनुदिन मुसलमानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।
जयसवाल सहित उनीहरुलाइ जिल्ला अदालत रुपन्देहीले दुई वर्षपछि २०७१साल असार २४ गते २० बर्ष कैद सजाय सुनाएको थियो ।
सो हत्यामा संलग्न एक जना अझै फरार रहेका छन भने सजाय काटिरहेका जैसवालका बुवाको काठमाण्डौ बिर अस्पतालमा गत वर्ष असोजमा मृत्यु भएको थियो ।
जयसवाल जिल्ला प्रहरी कार्यालयको टिमले पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला अदालत रुपन्देहीमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरक भाष्कर चन्दले बताए ।
त्यस्तै वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्धाकै २० बर्ष कैद भुक्तान गर्न बाकी एक फरारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही साविक जोगडा ९ र हाल गैडहवा गाउँपालिका वडा न. २ का मिनकु केवटको छोरा ३९ वर्षिय राज कुमार केवट रहेका छन ।
रिता मुरावको श्रीमानलाई कर्तव्य गरी मारेको मुद्धामा केवटलाई जिल्ला अदालत रुपन्देहीकोले २०६७साल वैशाख १९ गते २० बर्ष कैद सजायको फैसला गरेको थियो ।
फरार रहेका उनीलाई जिल्ला प्रहरी कार्यालय मातहतकै वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको सह प्रवक्ता प्रहरी निरीक्षक चन्दले बताए ।
दुबै जनालाई जिल्ला अदालत रुपन्देहीमा कैद भुक्तानको लागि बुझाएकोमा कार्यालयले जानकारी दिएको छ ।
रुपन्देही प्रहरीले पछिल्लो समय जघन्य अपराधमा संलग्न भएर फरार भएका अभियुक्तको खोजी गरिरहेको छ । यसक्रममा तीन दर्जन फरार अभियुक्त पक्राउ परेका छन् ।