बुटवल । बुटवल, पाल्पा लगायत लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा भारी बर्षा भएको छ । मंगलबार मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले लुम्बिनी प्रदेश लगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाले तिनाउ क्षेत्रमा पर्ने बुटवलका वस्तीहरुले असार ३ गतेसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताएको छ । भारी बर्षा भइरहेकाले नदिले बाढीको सतह छुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
महाशाखाले लुम्बिनी प्रदेशका नदिहरु तिनाउसहित कालीगण्डकी, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी आसपास क्षेत्रका वासिन्दाले सतर्कता अपनाउनु पर्ने बताएको छ ।
कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
मंगलबार प्रदेश नं. २, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना देखिएकाले सतर्कता अपनाउनु पर्ने मौसमविद्ले बताएका छन् ।
बजाइयो खतराको साइरन
भारी वर्षा भएपछि कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएकाले खतराको संकेत स्वरुप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।