बुटवल–रुपन्देहीको तिलोत्तमा नगरपालिका मुलुककै पहिलो पोलिथिनमुक्त र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको छ।
शुक्रबार नगर कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो पोलिथिनमुक्त र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरे।
जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शून्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शून्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ।
जिल्ला समन्वय समितिका प्रमुख तथा समितिका अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र घोषणा कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो।
यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको अनुगमन गरेको थियो। नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शुन्य पोलिथिन भनिने उल्लेख छ।
नगरबासीको घर–आँगन, टोल–समुदाय, खेत–खलियान, कुलो–नहर, वन–जंगल, सडक–बाटो, सार्वजनिक स्थलबाट सात महिनाको अवधिमा झण्डै ८० हजार बोरा पोलिथनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शून्य पोलिथिन घोषणा गरिएको हो।
१ सय २६ वर्ग किलोमिटरमा फैलिएको तिलोत्तमाका नगरबासीले फोहोर जथाभावी नफाल्ने, फालेमा कारबाही भोग्न तयार रहने प्रतिवद्धता जनाएका छन्।
कार्यक्रममा बोल्दै मन्त्री भुसालले नेपालमा तिलोत्तमाबाट सरसफाईको इतिहासमा नयाँ कामको सुरुवात भएको बताउँदै शून्य पोलिथिन अभियान नागरिकको दायित्वबोधसँग जोडिएको बताए।
शून्य पोलिथिनलाई फोहोरमाथि धर्तीको विजयीको संज्ञा दिदै मन्त्री भुसालले यस्तो अभियान कसैले न कसैले सुरु गर्नुपर्नेमा त्यो तिलोत्तमाबाट सुरु हुनु तिलोत्तमाबासीका लागि सुखद् रहेको बताए। तिलोत्तमाका हरेक निर्णय नगरबासीको जीवनशैलीसँग जोडिन थालेको बताउँदै उनले सरसफाईमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको उल्लेख गरे।
प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले तिलोत्तमाबाट सुरु भएको शून्य पोलिथिन अभियान राष्ट्रव्यापी हुने विश्वास व्यक्त गर्दै यो घोषणा ऐतिहासिक रहेको बताए।
प्रदेश सांसद दधिराम न्यौपानेले शून्य पोलिथिन अभियान तिलोत्तमा आसपासका अन्य पालिकाहरुले पनि सञ्चालन गर्नुपर्ने बताउँदै यो अभियान सोच, आनीबानी रुपान्तरणसँग जोडिएको बताए।
जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले लुम्बिनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रख्यात बनाउन शून्य पोलिथिन अभियान रुपन्देहीका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने बताउँदै यसमा आफूले अग्रसरता लिने प्रतिवद्धता जनाए।
तिलोत्तमामा शून्य पोलिथिनलाई स्थायित्व दिन विभिन्न सार्वजनिक स्थान, घर, पसलमा डष्टबिन राखिएको छ। नगरका सार्वजनिक स्थानमा कम्तिमा एक हजार डष्टबिन राख्ने नगरपालिकाको योजना छ। फोहोर संकलन कार्यसँगै संकलित फोहोरको व्यवस्थापनका लागि जनसहभागिता वास सहकारीसँगको सहकार्यमा एकीकृत फोहोर प्रशोधन केन्द्र निर्माण थालिएको छ।
बालबालिकालाई पोलिथिन जथाभावी फाल्नु हुँदैन भन्ने सिकाउन स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समेटिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए। यहाँका विद्यालय तथा टोल–टोलमा ‘मेरो खल्ती, मेरो पहिलो डष्टबिन’ भन्ने प्रचार गरिएको छ।
सार्वजनिक स्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको छ भने जथाभावी फोहोर फ्याक्नेलाई कारवाही गर्न आवश्यक स्थानीय कानुन निर्माण गरिएको छ।
यी सबै विषयले शून्य पोलिथिन घोषणालाई स्थायित्व गराउने नगर प्रमुख घिमिरेको विश्वास छ।
सिम नेपालसँगको सहकार्यमा यहाँ सात महिनादेखि शुन्य पोलिथिन अभियान चलाइएको थियो।
तिलोत्तमाकी उपप्रमुख जागेश्वरी चौधरीले नगरबासीले यो अभियानमा देखाएको सक्रियता, सहकार्य र कर्तव्यबोधले तिलोत्तमा नगर सफा भएको बताइन्।
यो अभियानको सफलताले तिलोत्तमाबासीको चेतनास्तर, दायित्वबोध र सहकार्यलाई मुलुकभर परिचित गराएको प्रवक्ता सुरेन्द्र श्रीले बताए।
मुलुकका ७५३ स्थानीय तहमध्ये पहिलो पटक तिलोत्तमाको १२६ वर्गकिलोमिटर क्षेत्रमा वर्षौंदेखि डम्पिङ भएर बसेको पोलिथिन फोहोर संकलन गरी व्यवस्थापन गरिएको सिम नेपालका अध्यक्ष निपेश ढाकाले बताए।