काठमाडौं-सरकारले आन्तरिक हवाई उडान खोलेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्याको ५० प्रतिशत मात्र हुने गरि नियमित आन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको हो।
भारत, टर्की, चीन र कतारबाहेक अन्य ७ देशमा पनि उडान संख्या सिमित गरि नियमित अन्तर्राष्ट्रिय हवाई उडान खोलिएको छ।
सातामा दोहासँग ४ वटा, इस्तानबुलसँग दुईवटा, दुबईसँग चार वटा, साउदी अरबको दमामसँग दुई वटा, ओमनको मस्कटमा एउटा, मलेसियाको क्वालालाम्पुरमा चार वटा, कुवेतको कुवेत सिटीसँग दुई वटा, दक्षिण कोरियाको सिओल र जापानको टोकियोसँग एक एक वटा तथा चीनको छेन्दु र ग्वान्जावमा चारवटा नियमित उडान हुने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।
नेपालमा बैशाख १८ देखि आन्तरिक र बैशाख २३ गतेबाट अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाइएको थियो। क्षेत्रीले कम्पनीले सेड्युल मागेपछि उडानहरु सुरु हुने बताए।
‘आन्तरिकको हकमा विमान कम्पनीहरुले सेड्डयुल माग्नुहुन्छ। ५० प्रतिशत भनेकाले त्यहि अनुसार सेड्डयुल माग्नु पर्यो। अन्तर्राष्ट्रियको हकमा पनि कम्पनीहरुले सेड्ड्युल माग्नु पर्यो।’, क्षेत्रीले भने।