काठमाडौँ – देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।
प्रदेश नम्बर १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा राति पनि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हो।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक वा दुई स्थानमा राति पनि मेघगर्जन र चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।
अहिले बिहान देशका अधिकांश भूभागमा सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको माैसमविदले जानकारी दिएका छन्।
प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्सहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएकाे छ।