बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्कमा जिल्लामा २७ जना नयाँ संक्रमित फेला परेको देखिएको छ । उक्त अवधिमा जिल्लाभर १ सय ८७ जनामा कोेरोना परिक्षण गरिएको थियो ।
कार्यालयका अनुसार यो संख्या पछिल्लो १० दिन कै सबैभन्दा धेरै हो । विहीबार जिल्लामा जम्मा ५ जनामा संक्रमण देखिएकोमा आज शनिबारसम्म आइपुग्दा पाँच गुणा बढेको छ ।
युके, इजरेयल, भारतका केही राज्य, अष्ट्रेलिया लगायतका देशहरुमा फेरि संक्रमण बढिरहँदा रुपन्देहीमा पनि संक्रमण दर उकालो लाग्नुले तेस्रो लहरको सुरुवात भएको हुनसक्ने आँकलन गरिएको छ ।
पछिल्ला तीन दिनमा युकेमा संक्रमण दर बढेकाले लकडाउनलाई थप कढाई गर्नु पर्ने मागहरु उठिरहेका छन् । यता विश्वमा नै सबैभन्दा धेरै नागरिकलाई खोप लगाएको इजरेयलले भरभित्रै पनि मास्क लगाउन फेरि आग्रह गरेको छ । यसअघि सार्वजनिक स्थलमा समेत मास्क लगाउन नपर्ने भनी आफ्ना नागरिकलाई सूचित पारेको थियो । त्यस्तै अष्ट्रेलियाका सिड्नी र ब्रिशबेन जस्ता सहरमा संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा गरिएको छ । भारतमा पनि दोस्रो लहरमा सबैभन्दा धेरै प्रभावित महाराष्ट्र लगायत दिल्ली र पञ्जावमा संक्रमणदर फेरि उकालो लागेको छ ।
विज्ञहरुले तेस्रो लहरको चेतावनी दिइरहेका बेलामा विश्वभर नै फेरि कोरोना संक्रमण उकालो लागेपछि तेस्रो लहरको सुरु भएको हुनसक्ने आँकलन गरिएको छ । रुपन्देहीमा पनि यसअघिभन्दा पछिल्ला १० दिनमै सबैभन्दा धेरै संक्रमित देखिएका हुन् ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ३ पुगको छ । हालसम्म जिल्लामा चार सय ८२ जना संक्रमितले ज्यान गुमाएका छन् भने २७ हजार ५ सय ३ जना निको भएका छन् । हालसम्म जिल्लामा कुल संक्रमितको संख्या २७ हजार ९ सय ९० पुगेको छ ।