बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा आज सकिदैं छ । असार ७ गते एक हप्ताका लागि लम्ब्याइएको निषेधाज्ञा आज रातीबाट सकिन लागेको हो । तर, कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै रुपन्देही जिल्ला प्रशासनले निषेधाज्ञा थप गर्नका लागि छलफल थालेको छ ।
अहिले १२ बजे बसेको कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकमा निषेधाज्ञा थप गर्नेबारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय जनक थापाले जानकारी दिए ।
डीसीसीएमसीमा सरोकार वालाहरुसँग भइरहेको छलफलमा सार्वजनिक यातायात चलाउने कि नचलाउने भन्ने विषयमा छलफल भइरहेको हो । यातायात व्यवसायीहरुले कोरोना रोकथामका मापदण्डहरु पालला गर्दै सार्वजनिक यातायात चलाउनुपर्ने माग राखेका छन् ।
प्रशासकीय अधिकृत थापाले भने–‘अब थप्ने निषेधाज्ञामा गाडीहरु चलाउने कि नचलाउने भन्ने बारेमा छलफल भइरहेको छ । ३ बजे निर्णय आउँछ ।’
गएको बैशाख १६ गतेदेखि कडारुपमा जारी गरिएको निषेधाज्ञा जिल्लामा संक्रमण कम हुँदैं गएपनि खुकुलो पार्दै लगेको छ । पछिल्लो पटक थप गर्दा नीजि सवारी सधानहरु जोर विजोर प्रणालीमा सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।