बुटवल । रुपन्देहीमा कोरोना संक्रमण फेरि उकालो लागेको छ । संक्रमणको दोस्रो लहर केही मथ्थर भइरहेको समयमा संक्रमण फेरि ह्वात्तै बढेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ३६ जना संक्रमित फेला परेका छन् । गत विहीबार पाँच जनामा संक्रमण देखिएकोमा त्यसको चार दिनपछि सात गुणा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा दुई सय ३ जनालाई परिक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । कार्यालयका अनुसार उक्त अवधिमा पाँच जना संक्रमितको ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा पाँच जना संक्रमितले ज्यान गुमाएका छन् ।
लक्षणसहित परिक्षण गराउन आउनेहरुको संख्या बढेकाले संक्रमितको संख्या बढ्न गएको स्वास्थ्य कार्यालयले बताएको छ ।
पछिल्लो समय थपिनेमा बुटवलका १४ जना, तिलोत्तमाका ९ जना, सियारीका एक जना, देवदहका २ जना, सैनामैनाका एक जना, ओमसतियाका १ जना, कञ्चनका ३ जना, रोहिणीका २ जना, लुम्बिनी साँस्कृतिक नगरपालिकाका १ जना र शुद्धोधनका १ जना रहेका छन् ।
योसँगै जिल्लामा २ सय १५ जना सक्रिय संक्रमित पुगेका छन् । गत शुक्रबारदेखि जिल्लामा सक्रिय संक्रमितको संख्या पनि निरन्तर बढिरहेको छ । शुक्रबार दुई सय, शनिबार दुई सय तीन, आइतबार दुई सय एक हुँदै आज सोमबार दुई सय १५ पुगेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।