बुटवल । रुपन्देहीमा हालसम्म ५५ प्रतिशत रोपाइँ किएको लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । आज असार १५ आर्थात् धान दिवसका दिनसम्म जिल्लामा आधाभन्दा धेरै रोपाइँ सकिएको निर्देशनालयले दिएको तथ्याङ्कमा छ ।
यो पुरै प्रदेशमा भएको रोपाइँभन्दा धेरै हो । निर्देशनालयका अनुसार प्रदेशमा ४७.७ प्रतिशत रोपाइँ सकिएको छ । ३ लाख ३४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा असार १४ गतेसम्म १ लाख ५३ हजार ३.५ हेक्टरमा रोपाइँ भइसकेको निर्देशनालयको तथ्याङ्कमा छ ।
समयमा नै मनसुन सुरु भएकाले गत वर्षको तुलनामा यस वर्ष ३ प्रतिशत बढी रोपाइँ भएको निर्देशनालयका बाली विकास अधिकृत दीनबन्धु पौडेलले बताए ।
तथ्याङ्क अनुसार प्रदेशमा सबैभन्दा धेरै रोल्पामा रोपाइँ भएको छ । रोल्पामा ९० प्रतिशत खेतमा रोपाइँ भइसकेको छ ।
तर गुल्मीमा भने जम्मा ७.७ प्रतिशतमा मात्रै रोपाइँ भएको निर्देशनालयले जनाएको छ । जुन अन्य जिल्लाको तुलनामा सबैभन्दा थोरै हो ।
त्यस्तै बर्दियामा ६३ प्रतिशत, नवलपरासी पश्चिममा ६० प्रतिशत, दाङमा ६० प्रतिशत, कपिलवस्तुमा २४.९ प्रतिशत, रुकुम पूर्वमा ६३ प्रतिशत, प्युठानमा ८० प्रतिशत रोपाइँ भएको छ । बाँकेमा २० प्रतिशत, पाल्पामा ३०.७ प्रतिशत र अर्घाखाँचीमा ५७.८ प्रतिशत धान खेतमा रोपाइँ भएको छ ।