नेपालगन्ज-कोरोना भाइरसको संक्रमण फैलिन नदिन सर्तकता स्वरुप नेपालगन्जस्थित नेपाल–भारत सीमानाका बन्द गरिएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले आइतबार(आज) बिहान ११ बजेबाट उक्त नाका एक साताका लागि बन्द गरिएको जानकारी दिए।
‘अबको एक साताको लागि नेपालगन्ज–रुपैडिहा नाका बन्द भयो,’ उनले भने ‘एक हप्तासम्म यो नाकाबाट कुनै पनि आवत–जावत गर्न पाइदैन।’
भारतमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सीमासँग जोडिएका जिल्ला उच्च जोखिममा परेको भन्दै आम सर्बसाधारणले नाका बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका थिए।
सरकारको निर्देशन बमोजिम नाका बन्द गर्नुपरेको प्रजिअ खड्काले प्रष्ट्याए। भारतको विभिन्न प्रदेशमा कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारी र औषधी उपचार गर्न गएका नेपालीहरु नेपालगन्ज नाकाबाट ठुलो संख्यामा फर्किएका छन्। त्यसरी घर फर्किने नेपालीसँगै भारतीय नागरिक पनि नेपाल आएका छन्।