बाँके-बाँकेको जमुनाहा नाकाबाट उद्धार गरिएका नेपाली क्वारेन्टाइनबाट फरार भएका छन्।
सीमा नाका बन्द भएपछि आइतबार राति सीमावर्ती भारतीय बजार रुपैडिया आइपुगेका ५ सयभन्दा बढी नेपाली नागरिकलाई उपमहानगरपालिकाले सोमबार बिहान उद्धार गरेर क्वारेन्टाइनमा राखेको थियो।
उपमहानगरका स्वाथ्यकर्मीको रेकर्डअनुसार १ सय ३८ महिलासहित ७ सय ५८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । क्याम्पसको पर्खाल नाघेर भागेपछि हाल क्वारेन्टाइनमा ३ सय जना मात्र बाँकी छन् ।
तीमध्ये अधिकांश युवाहरू भागेको प्रत्यक्षदर्शीले बताएका छन् । पहाड जानुपर्ने भएको र दुःख पाइयो भन्दै क्वारेन्टाइनमा राखिएका सबै जना फरार भएका हुन् ।
भारतमा ज्याला मजदुरी गरेर नेपाल फर्किएका उनीहरूलाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसको अस्थायी क्वारेन्टाइनमा राखिएको थियो ।
गाडीको व्यवस्था मिलाएर सबैलाई जिल्लागत रूपमा सुरक्षित घर पुर्याउने निर्णय भएसँगै उनीहरूको ज्वरो परीक्षण गरी नगर बसमा राखेर महेन्द्र क्याम्पस परिसरमा लगिएको थियो ।
उनीहरूलाई पठाउने तयारी गरिरहेकै क्रममा क्याम्पसको पर्खाल नाघेर भागेका छन् । प्रत्यक्षदर्शीका अनुसार क्याम्पस हाताभित्र प्रहरी भए पनि प्रहरीले रोक्न सकेन ।