बुटवल । रुपन्देहीमा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पारिएसँगै फेरि जिल्लाभर कोरोना संक्रमण बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले दोस्रो लहरको कोरोना संक्रमणमा कमी आएको भन्दै जेठ ३१ गतेदेखि जिल्लामा निषेधाज्ञा खुकुलो पार्दै लगेको छ । निषेधाज्ञा खुकुलो पारेसँगै केही मथ्थर बनेको संक्रमण फेरि बढ्न थालेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले तीन सय ८१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो हप्तादेखि जिल्लामा सक्रिय संक्रमितको संख्या एक सयभन्दा धेरैले बढेको कार्यालयले जानकारी दिएको छ ।
प्रतिदिन थपिने संक्रमितको संख्या बढ्दै गएका कारण निको हुने भन्दा संक्रमित हुनेको सख्या अधिक रहेको कार्यालयको तथ्याङ्कमा छ । रुपन्देहीमा पछिल्लो विहीबार ४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो असार लागेपछि एकै दिन थपिने सबैभन्दा धेरै संक्रमितको संख्या हो । बुधबार पनि जिल्लामा ४२ जना संक्रमित थपिएका थिए ।
यसो त गएको आइतबारदेखि नै जिल्लामा कोरोना संक्रमण लगातार उकालो लागिरहेको छ ।
थपिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै भिडभाड हुने शहरी क्षेत्रका रहेको कार्यालयको तथ्याङ्कमा छ । पछिल्ला दुई सातादेखि थपिएका संक्रमितहरुमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरभित्रका रहेका छन् । त्यसपछि तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र देवदहका रहेका छन् ।
हालसम्म रुपन्देहीमा संक्रमितको संख्या २८ हजार ४९७ पुगेको छ । जसमध्ये ३८१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १ जनाको कोभिडका कारण मृत्यु भएको छ । रुपन्देहीमा मृत्यु हुनेको संख्या ५०३ पुगेको छ ।
नाम मात्रैको निषेधाज्ञा
रुपन्देहीमा निषेधाज्ञा खुकुलो पारिएपनि केही व्यवसाय तथा गतिविधि माथि अझै निषेध नै गरिएको छ । निषेध गरिएको भएपनि ती व्यवसाय निर्वाध चलेका छन् । गत असार ८ गते देखि नीजि सवारी साधन र १५ गतेबाट सार्वजनिक सवारी साधन जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ ।
जोर–बिजोर प्रणाली भएपनि सडकमा सबैजसो सवारी साधन निर्वाध चलेका देखिन्छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले सडकमा दुबै खाले सवारी साधन गुडेको बताए । तर आवश्यक ठाउँमा चेकजाँच गरेर कारवाही गरिएको दाबी पनि गरे ।
‘सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली कार्यान्यवन भएको छ । नीजिमा दुबै प्रकारका गाडी चलिरहेको देखिन्छ । राम्रोसँग कार्यान्वयन भएको छैन,‘उनले भने–‘हामीले चेक जाँच पनि गरिरहेका छौं। तर सवारी चालकहरुले विभिन्न समस्या र बाध्यता बताउने गरेका छन् ।’
चेकजाँचका क्रममा निकै जरुरी काम भएकालाई छोड्ने गरेको र बाँकीलाई केहीबेर नियन्त्रणमा राख्ने गरिएको पाण्डेयले बताए । उनले बुटवलका योगिकुटी, राजमार्ग चौराह, रामनगर, मिलनचोक, ट्राफिकचोक, गोलपार्क लगायतका ठाउँमा चेकजाँच गर्ने गरेको जानकारी दिए ।
शहर बजारका मुख्य सडक क्षेत्रमा चेकजाँच गरेको त भनिएको छ, तर जोर बिजोर प्रणाली कामचलाउ मात्रै देखिन्छ । जिल्लाका बाँकी ठाउँहरुमा चेकजाँच नहुँदा निर्वाध सबै प्रकारका सवारी साधन चल्ने गरेका छन् ।
संघ, प्रदेश र स्थानीय सरकारले कोभिडबाट बच्नका लागि भन्दै अनेक उपायका नारा प्रचार गरिरहेका छन् । तर, सरकार ले नै संक्रमणको व्यवस्ता गर्दै कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
लुम्बिनी प्रदेश सरकारले तामझामका साथ कार्यक्रमहरु गरिरहेकै छ । मुख्यमन्त्री शंकर पोखरेल र मन्त्रीहरु सहभागी भएर ठूलो संख्यामा वृक्षरोपणदेखि छलफल अन्तरक्रिया, सम्मान, शिलान्यास, उद्घाटनजस्ता कार्यक्रम गरिरहेका छन् । १४ असारमा लुम्बिनी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयले बाजागाजासहितको कार्यक्रम गर्दै एकै स्थानमा एक घण्टामा २० हजार रुखबिरूवा रोपेको थियो । जसमा मुख्यमन्त्री पोखरेल, वातावरणमन्त्री कल्पना पाण्डेलगायत सांसद, कर्मचारी, पार्टी नेता कार्यकर्ता र स्थानीय सहभागी थिए ।
सभा सम्मेलन गोष्ठी सेमिनारलाई निषेध गरेको भएपनि सरकारी निकायबाटै गोष्ठी, सेमिनार भइरहेकै छन् । लुम्बिनी प्रदेशका मन्त्रालयहरुकै आयोजनामा दैनिकजसो कार्यक्रम हुने गरेका छन् । बुधबार बुटवलमा स्वास्थ्य मन्त्रालयले पत्रकारसँग अन्तरक्रिया ग¥यो भने अघिल्लो साता आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा दाङको भालुवाङमा प्रदेशका सबै जिल्लाका पत्रकार भेला गरेर कार्यक्रम भयो। यस्तै बुधबार दाङको भालुवाङमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना तथा कार्यारम्भ गर्दा पनि भीडभाड भेला पारेरै कार्यक्रम भयो ।
यसरी सरकारी निकायबाट दुरी कायम गरेर सञ्चालन गर्ने भनिएपनि सहभागीहरुबाट दुरी कायम र सावधानीका कुनै उपाय अपनाइएको पाइँदैन । सरकारले नखोल्न भनेका पार्टी प्यालेसमा आफै कार्यक्रम गर्दै असारे बजेट सक्ने ध्याउन्नमा छ । स्वास्थ्य मन्त्रालयले आफै अन्तरक्रिया गरेको छ ।
स्थानीय तहहरुले पनि असार मसान्तको समयमा हतार हतार कार्यक्रमहरु आयोजना गरिरहेका छन्। विवाह, पूजाआजामा जमघट नगर्ने भनिएपनि कार्यान्वयन भएको पाइँदैन ।
व्यवसायमा छैन मापदण्ड
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो आदेशमा माछामासु, तरकारी, फलफूल, दुधजन्य सामग्री बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ । तर निषेधाज्ञा खुकुलो भएसँगै यी पसलहरु दिनभर जसो नै खुला देखिन्छन्। अन्य पसल तथा व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म मात्र खोल्न भनिएको तोकिएको समय बाहेकका समयमा समेत पसलहरु खुलेका छन्। पसलहरुमा भिडभाड समेत देखिन्छ।
पछिल्लो निषेधाज्ञा सम्बन्धी आदेशमा सबै प्रकारका सभा, पार्टी प्यालेश, सिनेमाहल, सेमिनार तालिम गोष्ठी, सम्मेलन सैलुन, मनोरञ्जनस्थल, व्युटीपार्लर र स्विमिङ पुल, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना र हाटबजार आदि सञ्चालन नगर्ने भनेर उल्लेख गरिएको छ। तर यी अधिकांश व्यवसायसँगै शैलुन र व्युटीपार्लरका पसल खुलेका छन् । यी क्षेत्रमा स्थानीय प्रशासनको चासो नै छैन।
निषेध गरिएका र समय तोकिएका दुबै प्रकारका व्यवसाय सञ्चालनहुँदा स्वास्थ्य मापदण्डको पालना समेत भएको देखिँदैन । पसलहरुमा दुरी कायम भएको देखिँदैन।माक्स, सेनटाइरको प्रयोग पनि भएको पाइँदैन। जिल्ला प्रशासन कार्यालयले सम्बन्धित उद्योग वाणिज्य संघ वा व्यापार संघलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउने स्वयंसेवक परिचालन गर्न भनेको छ, तर यी संस्थाहरुले त्यसरी मापदण्ड पालना गराएका छैनन्।
बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले आफूहरुले मापदण्ड पालना गर्न व्यवसायीहरुलाई भनेको बताए। ’अलि अस्ती हामीले सचेतनाको लागि माइकिङ पनि गर्यौं । संघका वस्तुगत समितिलाई पनि आ–आफ्नो क्षेत्रमा मापदण्डको पालना गराउनुस भनेका छौ।’ उनले भने ‘केही व्यवसायीले अटेर गर्नुभएको छ । मापदण्ड पालना गराउन हामीले इलाका प्रहरी कार्यालयसँग पनि समन्वय गरेका छौं।’
रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले पनि मापदण्ड पालना गराउन संघ मातहतका व्यवसायीहरुलाई भनेको बताए । ‘सबै व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न हामीले सुचना गरेका छौं। धेरैले गर्नुभएको छ। केहीले नगर्नुभएको होला’–उनले भने–हामी आफैंले पनि संघको बैठक भर्चुअल रुपमै गर्ने गरेका छौं।’
जिल्ला प्रशासन कार्यालयले आदेश गर्ने कार्यान्वयन नगर्ने प्रचलन देखिएको छ। कार्यान्वयन गराउने निकायले पनि चासो दिएको पाइँदैन। चेकजाँचमा खटिएका सुरक्षाकर्मीको ‘मुड’को भरमा चलेको छ।
कसैलाई निषेधाज्ञा उल्लंघन गरेको भनेर जरिवाना तिराउनेसम्मका सजाय दिइएको छ भने कसैले होटल, रेष्टुरेन्ट, फुटसल, कभर्ड हल चलाउँदा नदेखेजस्तै गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापा मापदण्डहरु उल्लंघन भइरहेको र प्रहरीले कारवाही पनि गरिरहेको बताउँछन्।
‘भैरहवामा पनि पसल सञ्चालकहरुलाई निन्त्रणमा लिएका थियौं। जिल्ला प्रहरी मातहत अन्य इकाइहरुलाई पनि मापदण्डको कार्यान्वयन गराउन भनेका छौ।’ उनले भने ‘प्रहरीले जनशक्ती र क्षमताले भ्याएसम्म मापदण्ड पालना गराउन लागेको छ ।’
अस्पतालमा भरिन थाले बेड
संक्रमण परीक्षण गराउने र संक्रमण पुष्टि भएर अस्पताल हुनेको संख्या बढ्दै गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकले निषेधाज्ञा खुकुलो भएसँगै अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका बिरामीको संख्या बढेको बताए ।
बिहीबार दिउँसोसम्म अस्पतालको आकस्मिक कक्षमा मात्रै कोरोना संक्रमण पुष्टि भएका २१ जना बिरामी भर्ना भएका छन् । कोभिडका मात्रै ४७ जना बिरामी अस्पतालमा उपचाररत छन् ।
‘केही दिन अघि ५/७ जना मात्र थिए । अहिले २१ जना पुगे । इमरजेन्सीमा यसरी बढ्नु भनेको संक्रमण फेरि फैलिएको संकेत हो’ डा. पाठकले भने । कोभिडका लागि अस्पतालले २१ वटा बेड छुट्याएको छ ।
यस्तै अस्पतालमा बिहीबारसम्म आइसियुमा ८ जना र जनरल वार्डमा १८ जना कोभिडका बिरामी छन् । उनले बिरामी थपिने दर बढेकाले अरु थप बेडमा भर्ना गर्नुपर्ने अवस्था आएको बताए ।
उनका अनुसार अधिकांश संक्रमितहरु पसलका व्यापारीहरु छन् । निषेधाज्ञा खुकुलो भएर बजार खुल्दा व्यापारी र उपभोक्ताबीच आपसमा संक्रमण फैलिए को हुनसक्ने डा. पाठकको भनाई छ ।
‘जो जसले पसल खोल्नुभएको छ, उहाँहरुमा अहिले कोभिड देखिइरहेको छ, चैत्रमा दोस्रो लहरको सुरुवातमा पनि व्यापारीहरुमा कोभिड संक्रमणदर बढी देखिएको थियो’–उनले भने–‘पसलहरुको माध्यमबाट उनीहरुको परिवार र ग्राहकहरुमा फैलिदै छ, फेरि पहिलेकै अवस्थामा फैलिने हो कि भन्ने संकेत देखिएको छ ।’
डा.पाठकले फेरि संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सचेत हुन आवश्यक रहेको उल्लेख गरे । उनले आवश्यक सावधानी र सतर्कता नअपनाएमा अवस्था जटिलतातर्फ जाने संकेत गरे ।