बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कले लुम्बिनी प्रदेशमा करिब दुई लाख जनाले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएको बताएको छ ।
तथ्याङ्क अनुसार प्रदेशमा लुम्बिनी प्रदेशका दुई लाख ७८ हजार ४७६ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएकामध्ये ८४ हजार १६३ जनाले मात्र दोस्रो मात्रा पाएका छन् । एक लाख ९४ हजार ३१३ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
सरकारले समयमा नै खोप नल्याएका कारण पहिलो मात्रा लगाएको चार महिना पुग्दा समेत त्यती ठूलो संख्यामा खोप लगाउन नपाएका हुन् ।
सरकारले शुरु गरेको कोराना विरुद्ध देशभर शुरु गरेको खोप अभियानमा कोभिसिल्ड र भेरोसेल खोप सबैभन्दा धेरै लागउनेमा बागमती प्रदेश अगाडि रहेको छ भने कम खोप लगाउने जनसंख्यामा कर्णाली प्रदेश रहको छ ।
बागमती प्रदेशमा चार लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् भने कर्णाली प्रदेशमा एक लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएका छन् ।
त्यस्तै बागमती प्रदेशमा चार लाख ७० हजार ६०४ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने कर्णली प्रदेशमा २३ हजार ९ जनाले भेरोसेल खोपका पहिलो मात्रा लिएका छन् ।
कोरोनाभाइरस कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सातै प्रदेशमा २६ लाख ११ हजार ८०७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लिएका छन् । जसमध्ये नौ लाख ३३ हजार ८६८ जनाले कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातै प्रदेशमा १८ लाख २८ हजार ४८४ जनाले कोभिसिल्डको पहिलो खोप लिएका छन् । जसमध्ये ४ लाख ६ हजार ३६ जनाले मात्र कोभिसिल्डको दोस्रो मात्रा लगाउन पाएका छन् ।
त्यस्तै भेरोसेल खोपको पहिलो मात्रा लिएका सात लाख ८७ हजार ३२३ जनामध्ये ४७ लाख ३१ हजार १३४ जनाले दोस्रो मात्रा पाएका छन् ।
अन्य प्रदेशमा कति ?
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा तीन लाख ७१ हजार ८६ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् । पहिलो मात्रा खोप लगाएकामध्ये ५२ हजार ८५५ जनाले मात्र दोस्रो मात्रा लिएका छन् । साथै दुई लाख ५४ हजार ३३१ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
प्रदेश २ मा तीन लाख २० हजार ५३२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका मध्ये ४६ हजार १५८ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । साथै दुई लाख ७४ हजार ३७४ जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
बागमती प्रदेशमा चार लाख २१ हजार ४८२ जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लिएका छन् । जसमा एक लाख ६० हजार ४९५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख ६० हजार ९८७ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।
गण्डकी प्रदेशमा एक लाख ८७ हजार ९७४ जनाले पहिलो मात्रा लगाएका छन् भने ४९ हजार ६११ जनाले मात्रै कोभिसिल्डको दोस्रो मात्रा लगाएका छन् । साथै एक लाख ३८ हजार ३६३ जनाले दोस्रो मात्रा लगाएका छैनन् ।
कर्णाली प्रदेशमा एक लाख ७३ सय २८ जनाले कोभिसिल्डको पहिलो मात्रा लिएका छन् । जसमा २८ हजार ८४८ जनाले मात्रै दोस्रो मात्रा लगाउन पाएका छन् । साथै ७८ हजार ४८० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
सुदूरपश्चिम प्रदेमा दुई लाख ५५ हजार ६ जनाले कोभिसिल्डको पहिलो मात्रा लगाएका मध्ये ३७ हजार ९०६ जनाले मात्र दोस्रो मात्रा लगाउन पाएका छन् । साथै एक लाख ६७ हजार ६ सय जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।