लन्डन-इंग्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले आफ्नो टिमका तीन खेलाडी मार्कस रासफोर्ड, जेडन सान्चो र बुकायो साकामाथि लागेको रंगभेदी व्यवहारलाई अक्षम्य अपराधको रूपमा टिप्पणी गरेका छन् । युरो २०२० को फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा गोल गर्न नसकेको भन्दै तीन खेलाडीमाथि रंगभेदी व्यवहारसहितका टिप्पणीहरु आएका थिए ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र इंग्लिस फुटबल एसोसिएसनले पनि यो घटनाको घोर निन्दा गरेका छन् । इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित हुँदा उनीहरू गोल गर्न चुकेका थिए । त्यसलगत्तै उनीहरू सामाजिक सञ्जालको निसानामा परेका हुन् । लन्डन प्रहरीले यो दुर्व्यवहारको अनुसन्धान गरिरहेको छ ।
‘जित–हारमात्र हाम्रा लागि सबैथोक होइन,’ प्रशिक्षक साउथगेटले भनेका छन्, ‘राष्ट्रिय टिमले देशलाई एकताको सूत्रमा बाँधेको हुन्छ । हामी सबैले एकअर्काको भावना बुझ्नुपर्छ र एकजुट हुनुपर्छ । हाम्रो देशमा एउटा यस्तो शक्ति छ, जो एकसाथ आएको खण्डमा सकारात्मक ऊर्जा प्रवाह हुनसक्छ भनेर हामीले प्रमाणित गरिसकेका छौं ।’
पेनाल्टीबारे प्रशिक्षक साउथगेटले थपे, ‘पेनाल्टी को खेलाडीले प्रहार गर्छ भन्ने नितान्त मेरो निर्णय थियो । यो खेलाडीको स्वेच्छाले भएको होइन र अधिक अनुभवी खेलाडीहरू पछि हटेका पनि होइनन् ।’ सन् १९६६ को विश्वकप जितेयता इंग्ल्यान्ड पहिलोपल्ट प्रमुख प्रतियोगिताको फाइनलमा पुगेको थियो । खेलको दोस्रो मिनेटमै अग्रता लिनुका बाबजुद अतिरिक्त समयसम्म १–१ को बराबरी खेलेपछि पेनाल्टीबाट नतिजा छिनोफानो गरिएको हो ।
इंग्ल्यान्डको यो टोलीका सदस्यहरू राष्ट्रिय नायकका रूपमा प्रशंसाका पात्र हुन्, रंगभेदी दुर्व्यवहारका लागि होइनन्,’ बेलायती प्रधानमन्त्री जोन्सनले भने, ‘जसले यस्तो निकृष्ट आरोप लगाइरहेका छन् उनीहरू घृणाका पात्र हुन् ।’
रंगभेदी व्यवहारविरुद्धमा ऐक्यवद्धता जनाउँदै इंग्ल्यान्ड टिमले युरोका हरेक खेलअघि घुँडा टेकेर सकारात्मक सन्देश दिँदै आएको छ । जुन ११ मा प्रतियोगिता सुरु हुनुअघिका दुई अभ्यास खेलमा इंग्लिस खेलाडीले घुँडा टेकेकामा समर्थकले मजाक उडाएकोप्रति भने प्रधानमन्त्री केही बोलेका थिएनन् । इंग्लिस एफएले वेम्बलीको हारपछि आफ्ना तीन खेलाडीमाथिको ‘अनलाइन रंगभेद’ बाट स्तब्ध भएको जनाएको छ । एफएले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘रंगभेदजस्तो घृणित व्यवहार कुनै पनि पक्षबाट हुनुहुँदैन भन्नेमा हामी स्पष्ट छौं । हामी पीडित खेलाडीको सुरक्षाका लागि हरसम्भव प्रयास गर्नेछौं र यस घटनाका जिम्मेवार जो कसैलाई पनि कानुनी दायरामा ल्याउन आग्रह गर्छौं ।’ एफएले अनलाइनबाट हुने रंगभेदी व्यवहारको नियन्त्रणका लागि आवश्यक कानुन तर्जुमा गर्न सरकारसँग माग गर्ने जनाएको छ । ‘खेलका क्रममा हुने भेदभाव नियन्त्रण गर्नका लागि हामीले सुरु गरेका सबै प्रयासलाई निरन्तरता दिइनेछ । तर हामी सरकारसँग उचित कानुन तर्जुमा गर्न अपिल पनि गर्नेछौं ।
यसको दुरुपयोगले वास्तविक जीवनमा ठूलो संकट नल्याओस्,’ वक्तव्यमा थप भनिएको छ, ‘सामाजिक सञ्जालले पनि आफ्नो माध्यममार्फत यस्तो दुर्व्यवहार गर्नेलाई प्रतिबन्ध लगाउने वा अन्य कारबाहीको दायरामा ल्याउने अभियानको नेतृत्व गर्नुपर्छ । यस प्रकारको घृणित कार्यलाई रोक्न सकियोस् ।’ मे महिनामा युरोपा लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडले पराजय बेहोर्दा पनि रसफोर्डमाथि नस्लीय दुर्व्यवहार भएको थियो । बीबीसी