बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३७ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा जिल्लामा दुई सय २४ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।
योसँगै जिल्लामा फेरि सक्रिय संक्रमितको संख्या बढेको छ । हिजो मंगलबार जिल्लामा तीन सय १४ सक्रिय संक्रमित रहेकोमा आज बुधबार तीन सय ३१ जना पुगेका छन् ।
थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै बुटवलका रहेका छन् । बुटवलमा २५ जना संक्रमित थपिएका हुन् । त्यसबाहेक तिलोत्तमामा ८, देवदहमा एक र सैनामैनामा ४ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ६ सय १३ जना पुगेको छ । तीमध्ये २७ हजार ८ सय २४ जना निको भएका छन् भने ५०५ जनाको मृत्यु भएको छ ।