बुटवल । आज बुधबार बुटवलमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार बुटवलमा २४ जना संक्रमित थपिएका हुन् , जुन एक महिना यताकै सबैभन्दा धेरै संख्या हो ।
गएको जेठ २० गते एकै दिन बुटवलमा ३५ संक्रमित थपिएयता त्यति ठूलो संख्यामा सक्रमित थपिएका थिएनन् । लकडाउन खुकुलो हुँदै गएका कारण बढेको भिडभाडले शहरी क्षेत्रमा संक्रमण फेरि बढ्दै गएको हुनसक्ने लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन नन्दु पाठक बताउँछन् ।
आज थपिनेमा बुटवलबाहेक तिलोत्तमामा आठ, देवदहमा एक र सैनामैनामा चार जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रुपन्देहीमा पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना परिक्षण गर्दा ३७ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै जिल्लामा फेरि सक्रिय संक्रमितको संख्या बढेको छ । हिजो मंगलबार जिल्लामा तीन सय १४ सक्रिय संक्रमित रहेकोमा आज बुधबार तीन सय ३१ जना पुगेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २८ हजार ६ सय १३ जना पुगेको छ । तीमध्ये २७ हजार ८ सय २४ जना निको भएका छन् भने ५०५ जनाको मृत्यु भएको छ ।