बुटवल । अमेरिकाको संघीय सरकारका अधिकारीहरुले जोनसोन एण्ड जोनसोन खोपले ‘गिलिन–बार्रे’ नामक स्नायु प्रणालीमा हुने संक्रमणको जोखिम बढ्न सक्ने बताएका छन् । फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन(एफडीए) ले खोपको ‘साइड इफेक्ट’ स्वरुप गिलिन नामक रोग लाग्न सक्ने भनी आफ्नो वेभसाइटमा उल्लेख गरेपछि खोपले निम्त्याउन सक्ने असुरक्षाबारे विभिन्न टिकाटिप्पणी सुरु भएका छन् ।
तर, अध्ययन अनुसार खोपको जोखिमको आकार भने नगण्य छ । अहिलेसम्म अमेरिकामा एक सय जना त्यस्ता विरामी फेला परेका छन्, जबकि एक करोड ३० लाख जनालाई उक्त खोप लगाइसकिएको छ ।
गुइलिन–बार्रेको संक्रमण देखिएका १०० जनामध्ये ९५ जनाको अवस्था गम्भीर बनेको र अस्पतालमा भर्ना गर्नुपरेको छ । तर जानसेन खोपकै कारण गिलिन–बार्रेको जोखिम बढेको हो स्थापित गर्न अझै येथेष्ठ प्रमाणहरुको आवश्यकता रहेको विज्ञहरुले बताएका छन् ।
यो खोप लगाएका मानिसमा रगत जम्ने समस्या देखिएको थियो । जसका कारण केही समयका लागि यो खोपको प्रयोगमा रोक समेत लगाइएको थियो । तर यो खोप कै कारण रगत जम्ने जोखिम निकै कम रहेको भन्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले पुन: खोप प्रयोगका लागि अनुमति दिएको थियो ।
स्नायु प्रणालीसम्बन्धी रोग गिलिन–बार्रे कस्तो संक्रमण हो ?
गिलिन–बार्रे एउटा निकै दुर्लभ संक्रमण हो । यो संक्रमण लागेमा मानिसको प्रतिरक्षा प्रणालीले स्नायु कोषिकामा हमला गर्छ । रोग लागेका सुरुआती दिनमा हात र खुट्टाहरुमा कातिकुती लागेजस्तो हुन्छ । यो बढ्दै गएर कालान्तरमा मांशपेशी शिथिल भई पक्षघातसमेत हुनसक्छ ।
मध्यम लक्षण देखिएका विरामीहरुलाई एक हप्तामै पनि यो रोग निको हुनसक्छ । तर, जटिल लक्षण देखिएमा भने अस्पताल भर्ना गर्नुपर्ने अथवा मृत्यु नै पनि हुनसक्छ । यो रोगले दिर्घकालसम्म स्नायु प्रणालीलाई निष्क्रिय पार्न सक्छ ।
अमेरिकामा प्रतिबर्ष तीन हजारदेखि छ हजार वटा केशहरु फेला परेका छन् । उमेरले ५० कटेका मानिसहरु यो रोगको बढी जोखिममा रहेका छन् ।
रोगको कारण यही हो भनेर एकिन भइसकेको छैन । तर, अरु दिर्घ रोगबाट पिडित विरामीहरुलाई भने यो रोगले छिटै समात्ने देखिएको छ । कोभिड–१९ लागेका बिरामीहरुमा पनि यो रोग देखिएको छ ।
खोपसँग के सम्बन्ध छ ?
जोनसोन पहिलो खोप होइन जो गिलिन–बार्रेसँग जाोडिएको छ । सन् १९७६ मा सञ्चालन गरिएको स्वाइन फ्लूविरुद्धको वृहत खोप अभियानमा पनि यो संक्रमित देखिएको थियो ।
एक लाख जनामा खोप लगाइएकोमा एक जनामा यस्तो संक्रमण देखिएको थियो । मौसमी फ्लूविरुद्ध लगाइने खोपहरु पनि यो संक्रमणसँग जोडिएका छन् ।
‘मलाई लाग्छ फ्लूविरुद्धका भ्याक्सिनले गिलिन–बार्रे संक्रमण हुन्छ भन्नका लागि प्रयाप्त तथ्याङ्क छ, तर यो जोखिम निकै थोरै छ,’ जाोन्स हप्किन्स विश्वविद्यालयका खोप खोप सुरक्षा निर्देशक ड्यानियल सेलमनले भने ।
किन केही खोपहरुले यस्तो संक्रमण गराउँछन् भन्नेबारे थाहा छैन । ‘हामीलाई वास्तवमा यसको जैविक प्रक्रिया के हो भनेर थाहा छैन,’ सेलमनले भने,‘ जुन निकै अत्यासलाग्दो कुरा हो ।’
खोपसँग के सम्बन्ध छ ?
अमेरिकामा जोनसोन एण्ड जोनसोन खोप लगाएकाहरुमध्ये सय जनामा यो संक्रमण देखिएको छ । तीमध्ये ९५ जनालाई अस्पताल नै भर्ना गर्नु परेको छ ।
खोप लगाएको दुई हप्तामा संक्रमण देखिएको थियो । संक्रमितहरुमध्ये धेरै जना पुरुष थिए । उनीहरुको उमेर ५० बर्षभन्दा धेरै थियो । तर खोप कै कारण संक्रमण भएको हो भनेर पुष्टि गर्न सक्ने निश्चित प्रमाणको भने खाँचो छ । यद्यपि, गिलिन–बार्रे संक्रमण र फाईजर–बायोनटेक अथवा मोर्डेनाले बनाएका खोपमा भने कुनै पनि सम्बन्ध भेटिएको छैन ।
खोप लगाउने कि नलागाउने ?
विज्ञहरुले गिलिन–बार्रे संक्रमणको जोखिम निकै झिनो रहेको बताएका छन् । खोपले दिने लाभको तुलनामा गिलिन–बार्रेको जोखिम निकै सानो रहेकाले खोप लगाउनु पर्ने बताएका छन् ।
खोप र संक्रमणको बीचमा यदी कुनै सम्बन्ध छ भने पनि गिलिन–बार्रेभन्दा कोरोना संक्रमण निकै ठूलो जोखिम भएकाले खोप लागाउनु पर्ने बताएका हुन् ।
अमेरिकी संस्था सीडीसीका अनुसार कोभिड संक्रमण भएर अस्पताल भर्ना हुनेहरुमा सबैजसो खोप नलगाएका रहेका छन् । उक्त एजेन्सीका अनुसार १२ बर्षभन्दा माथिका सबै जनाले खोप लगाउन उपयुक्त हुन्छ ।
‘कुनै पनि कुरा जोखिममुक्त छैनन्,’ सेलमनले भने–‘निर्णय लिदाँ लाख र जाोखिमको तुलना लिनु पर्छ ।’ अमेरिकको अवस्थातर्फ इङ्गित गर्दै उनले थपे-‘कोभिड निकै नमज्जाको रोग हो, जसले ६ लाख जनालाई लगिसकेको छ ।’
यो लेख न्यु योर्क टाइम्समा प्रकाशित लेखको सहयोगमा तयार पारिएको हो: सं