बुटवल । रुपन्देहीमा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका १६ वटै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ ।
१६ वटै स्थानीय तहसहित बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भिम अस्पतालमा खोप लगाइने कार्यालयको भनाई छ । जोनसोन खोपबारे भने अझै निर्णय नभएको कार्यालयको भनाई छ ।
कसले लगाउन पाउँछन् खोप ?
कार्यालयका अनुसार ५५ वर्ष र सो माथिका उमेर समुहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी रहेको सबै नागरिकहरुले खोप लगाउन पाउनेछन् ।
तीबाहेक जुनसुकै उमेर समूहका भएपनि विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरुले पनि खोप लगाउन पाउने छन् ।
उनीहरुबाहेक नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले खोप लगाउन पाउने छन् ।
कागज पत्र के–के चाहिन्छ ?
कार्यालयका अनुसार उमेर खुल्ने आधिकारिक प्रमाणका रुपमा नागरिकता या पासपोर्ट या सवारी चालक प्रमाण पत्र या शैक्षिक प्रमाण पत्र आवश्यक पर्छ । यीमध्ये कुनै एक प्रमाण पत्र लिएर खोप केन्द्रमा जानु पर्ने छ । उक्त प्रमाण पत्र छैनन् भने वडा कार्यालयबाट उमेर प्रमाणित हुने कागजात लिएर जान कार्यालयले अनुरोध गरेको छ ।
त्यस्तै सार्वजनिक यातायातका चालक ,सहचालकहरुको हकमा आधिकारिक परिचय पत्र, र सवारी साधनसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारी बाट प्रमाणित सूचिको आधारमामा खोप लगाउन पाइने छ ।
अत्यावश्यक सेवा प्रवाह प्रमुख जिल्ला अधिकारीले तोकेका सेवाहरुमा संलग्न व्यक्तिहरुको हकमा आधिकारिक परिचय पत्र आधारमा, विश्वविध्यालय र विध्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप लगाउन पाइने छ ।
त्यस्तै खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुको हकमा पासपोर्ट र भिसाको आधारमा खोप लागाउन पाइने छ । पूर्ण र अति अशक्त अपाक्तगता भएका नागरिकहरुको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रको आधारमा खोप लगाउन पाइने छ ।
यसैगरी यसअघि नै तोकिएको तर खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, कर्मचारी, पत्रकार, बैंक कर्मचारी, सुरक्षाकर्मी, संंस्थान कर्मचारी, जनप्रतिनिधि सबैले यो खोप लगाउन पाउने छन् । परिचय र प्रमाण खुल्ने कागजात लिएर सम्बन्धित खोप केन्द्रबाट खोप लगाउने व्यवस्था गरिएको उनले जानकारी दिए । खोपसम्बन्धी केही समस्या भएमा सम्बन्धित वार्डको स्वास्थ्य संस्थाबाट जानकारी लिन सकिने कार्यालयले जनाएको छ ।