देउखुरी - दाङको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र स्थापना गरिएपछि उपचारका लागि बिरामीलाई सहज भएको छ । राजपुर गाउँपालिका– ३ प्रतापपुरका प्रेम यादवलाई शुक्रबार सर्पले डस्यो । उनी उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भए। स्वास्थ्यमा सुधार आएको अस्पतालमा कार्यरत चिकित्सक छविलाल थापाले जानकारी दिए।
लमहीमा अस्पतालमा सर्पदंशको उपचार शुरु भएको पहिलो दिनमै उपचार सेवा लिने यादव पहिलो व्यक्ति हुन्। दाङमा सर्पको उच्च जोखिमलाई मध्यनजर गरेर सो अस्पतालमा सर्पदंशको उपचार थालिएको हो। लमही नगरपालिकाले आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र स्थापना गरेको हो । मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मी सर्पदंश उपचारको काममा संलग्न छन् । नगरपालिकाको लगानीमा रु दुई करोड ८० लाख बजेटमा उपचार केन्द्र भवन निर्माण गरिएको हो। रासस