बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड विरुद्धको खोप कार्यक्रममा विवाद उत्पन्न भएपछि कार्यक्रम स्थगित भएको छ ।
खोप कार्यक्रम स्थगित भएपछि अस्पतालका लागि आएका २ हजार डोज खोपमध्ये एक सय ८४ डोज खोप नलगाई फर्काइएको छ ।
अस्पतालमा खोप लगाउन आएकाहरुले आफूले नपाएको भन्दै विवाद झिकेपछि स्थिती नियन्त्रणबाहिर जान नदिन खोप अभियान नै रोक्नु परेको अस्पतालले जनाएको छ ।
अस्पताललाई हिजो शुक्रबार र आज शनिबार गरी २ हजार डोज खोप आएको थियो । तिमध्ये १ हजार ८ सय १६ डोज खोप लक्षित समूका व्यक्तिले विवाद सुरु हुनुअघि नै लगाइसकेका थिए ।
अभियान रोकिएपछि विहानै देखि खोप लगाउन हातमा परिचय पत्र बोकेर लाइन लागेको धेरै व्यक्तिहरुले खोप नपाएर फर्कनु परेको छ ।
अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले आज शनिबार वैदेशिक रोजगारमा जानेहरुका लागि मात्रै अस्पतालको खोप केन्द्रमा खोप लगाउने व्यवस्था गरिएकोमा अरु समूहका व्यक्तिहरु खोप लगाउन आएपछि समस्या आएको बताए ।
फर्काइएको खोपहरु स्वास्थ्य कार्यालयलाई नै दिइने उनले जानकारी दिए । ‘हामीकहाँ त खोपकेन्द्र मात्रै हो, जिल्लाको खोप समितिको निर्देशन अनुसार नै खोप लगाएका हौं,’ उनले भने–‘तर आफूले खोप लगाउन नपाएको भन्दै केही व्यक्तिहरुले विवाद झिकेर ढुङ्गामुढाको स्थिती बनेपछि अभियान रोकिएको हो ।’