काठमाडाैँ : विश्व शान्ति राष्ट्रम्ले नेपालमा वैदिक शिक्षाको प्रचारप्रसारमा योगदान गरेको भन्दै पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटालाई सम्मान गरेको छ ।
वैदिक ज्ञानको प्रचारप्रसारमा योगदान गरेका विश्वका छ देशका नेतालाई आइतबार आयोजित दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा रहेको महर्षि वैदिक इन्ष्टिच्युट परिसरमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले महर्षि नेतृत्वदायी पदकबाट सम्मानित गरिएकाे हाे । कार्यक्रम महर्षि विश्वव्यापी अभियानको मुख्यालय नेदरल्याण्ड्सबाट जुम प्रविधिमार्फत प्रत्यक्षरूपमा आयोजना गरिएको थियो ।
नेदरल्याण्ड्सबाट विश्वव्यापीरूपमा सम्मानित हुने छ नेताका नाम उच्चारण भएसँगै ती देशमा उनिहरुलाई सम्मान गरिएको हो ।
बाँस्कोटाले दुई दशकअघिदेखि नेपाल महर्षि वैदिक फाउन्डेसनका माध्यममार्फत योग, ध्यान र यज्ञका माध्यमबाट देश एवं विश्व शान्तिका लागि सहयोग गर्दै आएका थिए । हाल देशभर रहेका करिब १०० गुरुकूलमा योग, ध्यान एवं यज्ञका माध्यमबाट विश्व शान्तिका लागि योगदान भइरहेको छ ।
कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले वैदिक नेपाल निर्माणका लागि फाउन्डेसनका माध्यमबाट देशव्यापी अभियान सञ्चालन गरिएकामा खुशी व्यक्त गरे । कार्यक्रममा विश्व शान्ति राष्ट्रम्का महाराजा राम (डा टोनी नाडर) ले जीवनको पूर्ण वैदिक ज्ञान नै भएकाले वैदिक ज्ञान दिन विश्वभर अभियान सञ्चालन गरिएको बताए ।
बाँस्कोटासँगै भारतका पूर्वमन्त्री रमेश पोखर्याल ‘निशाङ्क’, इण्डोनेशियाको बालीका पूर्वनगरप्रमुख मादे पङ्कु पस्तिकालगायत विश्वका छ नेतालाई आआफ्ना देशमा वैदिक ज्ञानको प्रचारप्रसार गरेकामा सम्मान गरिएको थियो ।
‘अग्र्यानिक’ चिया उत्पादन, नेपालमा सहकारी आन्दोलन विस्तारसँगै नेपाली कांग्रेसको राजनीतिमा जीवन बिताएका बाँस्कोटाले पछिल्लो समय वैदिक नेपाल निर्माण अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख वसन्ती डङ्गोल तामाङलगायतले वैदिक नेपाल निर्माण अभियानमा स्थानीय सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता जनाएका थिए । चम्पादेवी मन्दिरमुनिको बोसन सामुदायिक वनको काखमा २७.५ रोपनी जग्गामा ब्रह्मानन्द सरस्वती ग्राम निर्माण गरिएको छ ।
योग, ध्यान र यज्ञका माध्यमबाट व्यक्तिलाई शान्त बनाउँदै मुलुकको शान्तिका लागि योगदान गर्न सकिने जनाइएको छ । ऋग्वेदको १० औँ मण्डलबाट लिइएको भावातीत ध्यान यहाँबाट सिकाइन्छ ।
ग्राममा ध्यान शिक्षकको तालिमसमेत सञ्चालन गरिने जनाइएको छ । गुरुपूर्णिमाका अवसरमा शनिबारदेखि नेपाल र भारतका गरी २६ ध्यान शिक्षक तालिममा सहभागी भएको जनाइएको छ । रासस