बुटवल–कपिलवस्तुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ ।
मंगलबार संक्रमण देखिएका ८ जना मध्ये एकजना २५ वर्षीया स्टाफ नर्स रहेको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।
उनका अनुसार ती नर्स जिल्ला अस्पताल तौलिहवामा कार्यरत छिन् । अस्पतालका केही स्वास्थ्यकर्मीको स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा उनमा संक्रमण पुष्टि भएको हो । ती नर्समा कसरी संक्रमण फैलियो भन्ने खुलेको छैन ।
संक्रमण देखिएसँगै अस्पतालका अरु कर्मचारीहरुको परीक्षण गर्ने तयारी भएको छ ।
कपिलवस्तुमा मंगलबार दिउसो कोरोना संक्रमण पुष्टि भएका सबै कपिलवस्तु नगरपालिकाका हुन् । संक्रमितहरु वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जना रहेका छन् । उनीहरु १९ वर्षदेखि ३६ वर्षसम्मका छन् ।
मंगलबारै थपिएका रुपन्देहीका ९ जना संक्रमितहरु लुम्बिनी सांस्कृतिक नगरपालिकाका हुन् । उनीहरु भारतको मुम्बईबाट आएर लुम्बिनीमै क्वारेन्टाइनमा बसिरहेका थिए ।