बुटवल–रुपन्देहीमा एउटै परिवारका ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
मंगलबार रुपन्देहीको भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा गैडहवा गाउँपालिकाको जोगडा माविमा रहेको क्वारेन्टाइनमा रहेका १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । तीमध्ये गैडहवा २ का ८ जना एउटै परिवारका रहेको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चु केवटले जानकारी दिए ।
उनका अनुसार उनीहरु भारतको मुम्बईबाट ७ दिनअघि आएका थिए । मुम्बईमा व्यापार गर्ने उनीहरुमध्ये ३ जना महिला छन् भने ४ र १० वर्षका बालबालिका पनि रहेका छन् ।
उनीहरु भारतबाट लुकिछिपी आएर क्वारेन्टाइनमा बसेका थिए । अरु २ जना पनि भारतको मुम्बईबाट आएर गैडहवाकै क्वारेन्टाइनमा रहेका थिए । गैडहवा गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ५२ जना रहेकोमा ४० जनाको स्वाब संकलन गरिएकोमा ३० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख राजेन्द्र गिरीका अनुसार रुपन्देहीका अरु २ जना भने कोरोना भाइरसको लक्षण देखिएपछि भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेका व्यक्ति हुन् ।
रुपन्देहीमा कोरोना भाइरस पुष्टि भएका १२ मध्ये २ जना भने अरु जिल्लाका हुन् । कपिलवस्तुको विजयनगर गाउँपालिका–२ का युवा र अर्का नवलपरासी पश्चिममा पण्डितको काम गर्ने भारत उत्तरप्रदेश गोन्डा जिल्लाका २५ वर्षका युवा हुन् । उनी भारत जान खोज्दा ३ दिन अघि सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भीम अस्पतालमा भर्ना गरिएको थियो ।
योसँगै रुपन्देहीमा संक्रमितको संख्या २८ पुगेको छ भने प्रदेश ५ मा ९३ पुगेको छ ।