बुटवल-कपिलवस्तुमा ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार वाणगंगा नगरपालिका ४ ठाकुरापुर की ६ वर्षीया बालिकामा संक्रमण देखिएको हो ।
स्वासप्रस्वाससम्बन्धि समस्या देखिएपछि वडा कार्यालयको सिफारिश लिएर काठमाडौं टिचिङ अस्पतालमा उपचार गराउन गएको समयमा चिकित्सकको सुझावअनुसार स्वाब परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।
उनीहरू उपचारका लागि मंगलबार काठमाडौं गएका थिए । काठमाडौंमा टिचिङ अस्पतालमा उपचारका लागि गएकी उनको स्वाब परीक्षण गर्दा संक्रमण देखिएको जानकारी आएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए ।
'मैले नै काठमाडौं उपचारका लागि जाने सिफारिश बनाईदिएको थिएँ, वाणगंगा नगरपालिका वडा नं ४ का वडाध्यक्ष गणेश क्षेत्रीले भने-हामीलाई जानकारी भएसम्म उनीहरूको परिवारमा कोही पनि विदेशबाट आएका छैनन् र त्यस्तो व्यक्तिको सम्पर्कमा गएको पनि देखिन्न ।'
घरमै बसिरहेकी ती बालिकामा कसरी संक्रमण देखियो भन्ने खुल्न सकेको छैन । बालिकामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आएकाहरूको खोजी गरि परीक्षण गर्ने तयारी भईरहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
योसँगै कपिलवस्तुमा संक्रमितको संख्या ३९ पुगेको छ । जसमध्ये ४ जना सुरक्षाकर्मी र १ जना स्टाफ नर्समा पनि संक्रमण पुष्टि भएको छ ।