बुटवल – रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवाको गम्भीर अवस्थामा उपचार भइरहेको उनका आफन्तले बताएका छन् ।
गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटहको एक निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक उनको जेठ १ गते देखि क्रिमसन अस्पतालमा उपचार भइरहेको हो ।
अस्पतालले पनि विज्ञप्ति निकालेर उपचाररत युवक जीवित रहेको स्पष्ट पारेको छ । मृत्यु भएको भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको अस्पतालले जनाएको छ ।
बिरामीको अवस्था गम्भीर रहेको तर उनको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको अस्पतालले उल्लेख गरेको छ ।
उपचारका लागि अर्घाखाँची सन्धिखर्कको छायाँ पोलिक्लिनिक आएका उनलाई थप उपचारका लागि क्रिमसन अस्पताल रिफर गरिएको थियो।
त्यसअघि पुर्कोटदहकै मदाने पोलिक्लिनिक र म्यालपोखरी स्वास्थ्यचौकीमा जाँच गराएका थिए । स्वास्थ्यचौकीमा जाँच गराउँदा टाइफाइड भएको औषधि लिएर घरमा आराम गरेका थिए । जेठ १ गते वान्ता भएपछि उनी पुनः स्वास्थ्यचौकी जाँदा स्वास्थ्यकर्मी विष्णु भुसालले जन्डिस भएको बताएपछि स्थानीय भोजराज भट्टराईको मोटरसाइकलमा अर्घाखाँची सन्धिखर्कको छाया पोलिक्लिनिकमा गएका थिए ।
पोलीक्लिनिकमा पुगेपछि स्वास्थ्यकर्मीले अवस्था जटिल रहेको भन्दै तिलोत्तमाको क्रिमसन अस्पताल रिफर गरेका थिए । बुटवलबाट सन्धिखर्क गएको एम्बुलेन्समा उनी अस्पताल आएर भर्ना भएका थिए ।
उपचारमा अस्पतालले लापरबाही गर्यो
कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले उपचारमा लापरबाही गरेको उनका आफन्तले बताएका छन् । उनका भाईले अस्पतालले उपचारमा लापरबाही गरेको बताएका छन् ।
‘निमोनिया भन्दै अस्पतालले ढाडबाट पानी निकाल्यो’, उनले भने, ‘त्यसपछि उहाँको अवस्था गम्भीर भयो, ढाडबाट पानी निकाल्नै नपर्ने अवस्थामा निकालियो ।’
अस्पतालमा भर्ना हुनुअघि हिँडेरै गएका व्यक्तिको उपचारमा लापरबाही गरेकै कारण अवस्था गम्भीर भएको उनको दाबी छ ।
‘जब उहाँमा कोरोना भाइरसको संक्रमण भएको भन्ने रिपोर्ट आयो त्यसपछि डक्टरहरु नै उहाँलाई नियमित हेर्न गएनन्’, उनले भने, ‘उहाँको निगरानी नै भएन, हामीलाई पनि हेर्न दिइएन, अवस्था पनि बिग्रँदै गयो ।’
उनले बिरामी अचेत अवस्थामा रहेको बताए । ‘भेन्टिलेटरमा नै हुनुहुन्छ’, उनले भने, ‘ढाडको पानी निकालेदेखि अचेत हुनुहुन्छ ।’