काठमाडौँ– सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।
बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन्।
गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लिम्पियाधुरासहितका क्षेत्र समेटेर तयार पारिएको नेपालको नयाँ नक्सा पारित गरेको थियो।
सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर भएको छ ।यसअघि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर मानिएको थियो ।
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेतको भूभाग नेपालले आफ्नो नक्सामा सामेल गरेसँगै क्षेत्रफल पनि बढेको हो ।
उक्त नक्सा मन्त्री अर्यालले बुधबार सार्वजनिक गरेकी हुन्।
नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले आफू गौरवान्वित भएको बताइन्। ‘आज मलाई अत्यन्त खुसी लागेको छ,’ उनले भनिन्, ‘यसमा आम नेपालीले देखाएको चासोप्रति आभार व्यक्त गर्न चाहन्छु। अहिलेसम्म उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यले देखाएको सत्यको भरमा हामीले यो कदम चालेका हौँ।’
उनले यो अवसर सिंगो नेपाल र नेपालीका लागि ऐतिहासिक क्षण रहेको बताइन्। ‘यो समय युगको सर्वाधिक स्मरणीय क्षण हो,’ मन्त्री अर्यालले भनिन्, ‘नेपालको मानचित्र बदलिएको छ, यसले नेपालीको मनोबललाई अझ उच्च बनाएको छ।’ मन्त्री अर्यालले अब सबै ठाउँमा नयाँ सार्वजनिक भएको नक्सा प्रयोग गर्न आग्रह गरिन्।