गुल्मी– आफुहरुको सहमतिविना नै जवरजस्ती शव उठाएर व्यवस्थापन गरेको भन्दै गुल्मीका कोरोना संक्रमितका परिवारले असन्तुष्टि जनाएका छन् ।
बिहिबार क्रिमशन अस्पतालले मृत घोषणा गरेका गुल्मी मदाने गाउँपालिकाका ४१ बर्षीय कोरोना संक्रमितको शव ३० घण्टापछि व्यवस्थापन गरिएको छ ।
उपचारमा अस्पतालले लापरबाही गरेको कारण ज्यान गएको भन्दै मृतकका आफन्तहरुले उपचारमा संलग्नहरुको छानबिन हुनुपर्ने माग गरेका छन् । परिवारका सदस्यले शुक्रबार सार्वजनिक रुपमा जारी गरेको विज्ञप्तिमा संक्रमणको पुष्टि पहिले कुरुवाको अनुमति बिना ढाडबाट पानी निकालिएको, समयमै बिरामीको छातीको एक्सरे नगरेको, क्वारेन्टाइनबाट भागेर आएका बिरामीलाई सँगै राखेको, कोरोना परिक्षणको लागि पहिले भर्नुपर्ने फाराम दुई दिनपछि मागेर भर्न लगाएको जस्ता आरोप लगाइएको छ ।
त्यस्तै कोरोना संक्रमणको पुष्टि भएपनि बिरामीलाई कोरोना अस्पतालमा पुराएर उपचार गर्नुको सट्टा लापरबाही गरेर ज्यान जाने अवस्था सिर्जना भएको भन्दै न्याय पाउनुपर्ने मृतककी श्रीमतीले माग गरेकी छन् ।
उनले उपचारमा लापरबाही गर्ने, बिरामीको सत्यतथ्य जानकारी समयमै नदिएर बाहिर अफवाह फैलाउने अस्पताल प्रशासन, चिकित्सक र सञ्चालकहरुलाई कानुन अनुसार कारबाहीको माग गरिन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा भएको बैठकले शव व्यवस्थापन गर्ने निर्णय गरेपछि शव उठाइएको थियो ।
परिवारका सदस्यले शव उठाउन अनुमति दिएका थिएनन् । नेपाली सेना र प्रहरीसहितको टोली क्रिमशन अस्पतालमा शव व्यवस्थापनका लागि पुगेको थियो ।
मृतकका भाइ मीनबहादुर कुवरले अस्पतालबाट शव नेपाली सेना र प्रहरीको टोलीले निकालेको बताए । उनीहरुले यो शव व्यवस्थापनको जिम्मा राज्यको भएको भन्दै उठाएको बताए ।
कुवंरले शव व्यवस्थापनको सेवा प्रवाहमा लापरबाहीको कुरा परिवारले उठाई रहेका बेला कुनै वास्ता नगरेर परिवारको सहमति विना शव उठाइएको बताए ।
‘कोरोनाकै कारण बिरामीको ज्यान जाने अवस्था किन आयो भन्ने बिषय गम्भीर छ,’उनले भने,‘बिमार भएर अस्पताल आएकै कारण अहिले आफुहरुले भोगेको समस्या अरुले पनि भोग्नेछन्, यस्तो लापरबाही रोकियोस् ।’
मृतकको शवलाई पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ तिलोत्तमास्थित भलुही जंगलमा व्यवस्थापन गरिएको छ ।
मदानेकै संक्रमितका परिवार, उपचारमा संलग्न स्वास्थ्यकर्मी र आफन्त २५ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
अझै पाँच जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए । मदानेपछि उपचार गरिएको अर्घाखाँचीको छाँया पोलिक्लिनिकका स्वास्थ्यकर्मीको पिसिआर रिर्पोट पनि नेगेटिभ नै आएको छ ।