नेपालगन्ज-बाँकेको राप्ती सोनारी गाउँपालिकामा आइतबार राति भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित छुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स भ्यान ठोक्किँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको बाँकेका ट्राफिक प्रहरी प्रमुख पबिन्द्र बमले जानकारी दिए ।
मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला रहेका छन् । ३३ जना सवार भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएको छ ।
दुर्घटनामा परेकाहरु भारतका विभिन्न शहरबाट आएका थिए । नेपालगञ्ज नाकाबाट उद्धार गरेर उनीहरुलाई सल्यान पठाईँदै थियो ।
साथै मृतकहरुको शव पनि पोस्टमार्टमका लागि अस्पताल लगिएको ट्राफिक प्रहरी प्रमुख बमले जानकारी दिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।