बुटवल–पाल्पामा भारतबाट आएर क्वारेन्टाइनमा बसेका १ जनाको मृत्यु भएको छ ।
जेठ १८ गते आइतबार भारतबाट आएर पाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २ को शम्भु माविमा रहेको क्वारेन्टाइनमा बसेका पूर्वखोला १ सिलुवाका ४६ वर्षका पुरुषको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालले जानकारी दिए ।
भारतबाट आएर रुपन्देहीको सीमानाका बेलहियाबाट पूर्वखोला गाउँपालिकाले उनीसहित ४२ जनालाई १८ गते गाउँपालिकाको क्वारेन्टाइनमा लगेको थियो ।
भारतबाट आउँदा नै स्वास्थ्य समस्या देखिएका उनको स्वास्थ्य जटिल बन्ने संकेत देखिएपछि उपचारका लागि तानसेनको मिसन अस्पताल लगिएको थियो ।
स्वास्थ्य संयोजक ढकालका अनुसार उनलाई ज्वरो, स्वास्वप्रश्वास र पेट फुल्ने समस्या देखिएको थियो ।
उनको सोमबार थ्रोट स्वाब लिएर भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । बुधबार मात्रै रिपोर्ट आउने जानकारी आएको स्वास्थ्य संयोजक ढकालले जानकारी दिए । उनको शव मिसन अस्पतालमा रहेको छ ।
पूर्वखोला गाउँपालिकामा नेपाल र भारतबाट आएका ३ सय १४ जनालाई ३८ वटा क्वारेन्टाइनमा राखिएको छ ।