बुटवल-रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बिहीबारदेखि लकडाउन खुकुलो बनाएको छ ।
उद्योगी व्यवसायीले लकडाउन खुकुलो बनाउन पटक पटक ध्यानाकर्षण गराएपछि सातामा ३ दिन बजार खोल्न अनुमति दिएको बुटवलले अत्यावश्यक सामग्रीका लागि साताभर पसल खोल्न पाउने व्यवस्था गरेको हो ।
बुटवलमा क्रियाशील उद्योग–व्यवसायीका संघसंस्थासँग छलफल गरेर उपमहानगरले लकडाउन खुकुलो बनाउने निर्णय गरेको नगरप्रमुख शिवराज सुवेदीले बताए ।
उपमहानगरको निर्णयअनुसार उपभोक्ताको प्रत्यक्ष सम्पर्क नहुने अत्यावश्यक सामग्रीको थोक बिक्रीका लागि प्रत्येक दिन १० देखि ३ बजेसम्म पसल खोल्न पाइने भएको छ । सामाजिक दुरी कायम गरेर सुरक्षित हुँदै पसल सञ्चालन गर्न उपमहानगरले भनेको छ । उपमहानगरको सूचना अनुसार डेरीहरू बिहान र साँझ ३ घण्टा खुल्न पाउने छन् ।
कृषि औजार, मेसिनरी तथा निर्माण सामग्रीका पसलका लागि बिहान ९ देखि बेलुका ६ बजेसम्मको समय निर्धारण गरिएको छ । उपमहानगरको सूचनामा बैंक तथा वित्तीय संस्थाहरू सार्वजनिक बिदाका दिनबाहेक पूर्ववत् सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
स्थानीय कृषि उत्पादकले हरेक दिन बिहान ३ घण्टा घरघरमा डुलाएर आफ्ना उत्पादन बेच्न पाउनेछन् । यसरी बिक्री हुने तरकारीको स्थानीय पालिकाहरूले स्वीकृति दिएको हुनुपर्ने उल्लेख छ ।
उपमहानगरले संघीय सरकारको निर्णयअनुसार नै सार्वजनिक सवारी, सिनेमा हल, जिमखाना, नाट्यशाला, पार्टी प्यालेस, होटल, रेस्टुरेन्टजस्ता जमघट हुन सक्ने व्यवसाय भने बन्द रहने जनाएको छ । स्कुल, कलेज, तालिम केन्द्रहरुजस्ता संस्था पनि अर्को सूचना जारी नहुँदासम्म सञ्चालन नगर्न भनिएको छ । उपमहानगरले तोकिएको स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएमा कुनै पनि बेला पसल बन्द गराउन सकिने चेतावनीसमेत दिएको छ ।