बुटवल-बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तरगतको कोरोना विशेष अस्पतालबाट २७ जनालाई डिस्चार्ज गरिएको छ ।
कोरोना भाइरस परीक्षणमा पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनीहरुलाई १४ दिन पूरा भएपछि घर पठाइएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
उनीहरुमध्ये १८ जना रुपन्देहीका र ९ जना कपिलवस्तुका हुन् । उनीहरु सबै पुरुष हुन् । यसअघि संक्रमितका २ वटा परीक्षणमा दुवै रिपोर्ट नेगेटिभ आएमा घर पठाउने गरिएकोमा स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकामा भनिएअनुसार अस्पतालमा भर्ना भएका संक्रमितमा १४ दिनसम्म लक्षण नदेखिए घर पठाउने व्यवस्था कार्यान्वयन गर्दै २७ जनालाई घर पठाइएको उनले बताए ।
घर पठाइएका २७ जनालाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ । ‘उहाँहरुमा कुनै लक्षण छैन । हामीले सरकारले निर्देशन गरेबमोजित घर पठाएका हौ । उनीहरु १३ देखि ५१ वर्ष उमेर समूहका छन्,’ उनले भने । उनीहरूलाई लिन सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स पठाएका छन ।
‘उनीहरुको ४ पटकसम्म जाँच गर्दा पनि रिपोर्ट पोजेटिभ आएको थियो । १४ दिनपछि कोरोना सर्ने सम्भावना कम हुन्छ । उहाँहरु घरमै आइसोलेट हुनुहुन्छ । सुरक्षित रुपमा बस्नुहुन्छ । लक्षण देखिए हामीलाई सम्पर्क गर्नुहुन्छ’–उनले भने ।
अस्पतालमा अहिले १४ दिन पूरा नगरेका जनरल आइसोलेसनमा ३ जना र आइसियुमा ३ जना बिरामी छन् । अस्पतालबाट १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
३ जना आइसीयुमा, २ जनाको अवस्था गम्भीर
अस्पतालमा उपचार गराइरहेका ३ जनाको आइसीयुमा राखेर उपचार भइरहेको छ । त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको डा. गौतमले बताए ।
२ जनालाई निमोनिया देखिएको छ भने १ जनामा मधुमेह रहेकाले अवस्था गम्भीर रहेको उनले बताए ।