बुटवल- मंगलबार बिहानको ५ बजिसकेको थियो । ५ बजे गाईभैसीलाई गोबरसोत्तर गरेर दानापानी दिइसक्ने बेला भयो ।
रुपन्देहीको तिलोत्तमा १० मैनहवास्थित कृष्णबहादुर पुनको फर्मका कामदार उठिसकेनन् । कृष्णबहादुर नजिकैका साथी डिलबहादुर थारुको फर्ममा सुतेका थिए । उनी उठेर आए । गेटबाटै चिच्याएर बोलाए । भित्रबाट अर्जुन मुसहर आए । उनी उनका बाबुआमासँगै गेटनजिकैको कोठामा सुत्थे । अर्जुनले आफु एक्लै सुतेको बताए ।
'गेटबाट बोलाएपछि अर्जुन आयो र आफु एक्लै सुतेको बतायो, अरुलाई बोलाउ छिटो, काम गर्नुपर्यो भनेर उसलाई गेटको चाबी खोल्न पठाएँ-सञ्चालक पुन घटना विवरण बताउँछन्-चाबी धेरैजसो पोषराजसँग हुन्थ्यो, उसलाई उठाउन भनेँ ।'
अर्जुन उनीहरु सुतेको अलि परको गोठसँगैको कोठामा गएर बोलाए । सबै सुतेका थिए । कोहीपनि उठेनन् ।
'कोहीपनि उठ्दैनन् भनेर अर्जुनले भनेपछि त्यहीँ गएर बोलाएर उठ्न भन्न लगाएँ,-सञ्चालक पुनले भने-उसले भुँइमा रगत लतपतिएको र सबैजना भुइँमा पल्टिइरहेका छन् भन्यो ।'
उनी गेटबाट हाम फालेर गोठमा पुगे । भुइँभरि रगत थियो । सबैजना सुतिरहेका थिए, कहिले पनि नउठ्नेगरी ।
कृष्णबहादुर आत्तिए । उनी गेटनजिक गएर साथीहरुलाई फोन गरेर बोलाए । गाउँका अरुलाई पनि खबर गरे ।
त्यसपछि साथीसँग प्रहरीको नम्बर मागेर प्रहरीलाई खबर गरे । गाउँलेहरु आएर यताउता खोजे । उनीहरुसँगै काम गर्ने झसेन्द्र सिंजाली फेला परेनन् । उनी परालको थुप्रोमा लुकेर बसेको भेटिए । उनी अचेत भए ।
त्यत्तिकैमा प्रहरी आयो । प्रहरीले उनलाई पक्रेर लग्यो । होस खुलेपछि झसेन्द्रले प्रहरीसँग आफुले फरुवाले हिर्काएर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।
फर्ममा रुपन्देहीकै सैनामैना ५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, उनका छोरा १० वर्षीय अर्जुन मुसहर र फर्म सञ्चालकले धर्म छोरा भनेर पालेका रमेश भन्ने पोषराज मुसहर बस्थे ।
रमेशका २ साथीहरु करण चौधरी र आशिष चौधरी गोठमा आइरहन्थे । सोमबार राती उनीहरु सोही गोठमै बसेका थिए ।
मैनहवामै बिहे गरेका माधवको परिवार करीब २ वर्षदेखि सो फर्ममा काम गर्दै आएका थिए ।
हत्या गरेको स्वीकार
रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्यास्थल नजिकै लुकेर बसेका हत्या आरोपीले कसुर स्वीकार गरेको प्रहरीले बताएको छ ।
गाईभैँसीको गोठअगाडि सुतेका पाँचजनाको हत्या आफूले गरेको ती व्यक्तिले प्रारम्भिक बयानमा स्वीकार गरेको प्रहरीको भनाई छ ।
घटनास्थल नजिकै परालमा लुकेर बसेका सुर्खेत घर भएका ३१ वर्षीय झसेन्द्र सिंजालीले फरुवाले हानेर हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी हेमकुमार थापाले बताए ।
सोमबार राति तिलोत्तमा नगरपालिका वडा नं १० मैनहवास्थित कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा काम गर्ने तीनजना र गाउँका अरु दूईजना गरी पाँचजनाको हत्या भएको थियो ।
सैनामैना मुर्गियाका ४१ वर्षे माधव मुसहर, ३७ वर्षकी जानकी मुसहर, १४ वर्षीय रमेश भनिने पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या भएको हो ।
दिउसो आएर काम गरेर फर्केको थिएँ
माधव र जानकीका अर्का १८ वर्षका करण मुसहर नजिकैको अर्को फर्ममा काम गर्छन् । उनी बेलाबेलामा बाबुआमालाई सघाउन पशुफर्म आउँथे । सोमबार दिउसो आएर दाउराहरु भित्र राखिदिएर गएका थिए ।
'म दिउसो आएको थिएँ, पानी परिरहेको थियो, पानी परेपछि आमाले दाउरा भित्र राख्न थाल्नुभयो, उनी भन्छन्-पानीमा रुझ्दै आमाले दाउरा ओसारेको देखेपछि मैले आमा नरुझ्नु हजुरलाई दु:ख हुन्छ मैले राखिदिन्छु भनेँ ।'
उनले दाउरा भित्र राखिदिए । झसेन्द्र सिंजालीलाई उनले अंकल भन्थे । 'अंकललाई पनि काम गर्न सघाएँ, उनले सम्झिए-पानी परेपछि नभिज्ने ठाउँमा राख्नपर्ने सबै सामान भित्र राखिदिएँ ।'
उनी बेलुकातिर आफुले काम गर्ने फर्ममा फर्किए ।
मंगलबार बिहान उनलाई खबर पुग्यो-बाबुआमा छैनन् । 'म अर्को फर्ममा गोबर सोहोरेर फाल्दै थिएँ त्यत्तिकैमा भाई आएर भन्यो, मम्मी पापा हुनुहुन्न, कहाँ जानुभयो भनेर सोधेको भाइले अंकलले मार्दियो भन्यो, त्यहीँदेखि रुदै चिच्याउँदै आयौं, रोएर आँसु सुकाइसकेका १८ वर्षे करण भन्छन्-आएर हेर्दा सबैतिर रगतैरगत थियो, हिजो भेटेका बाबाआमा सुतिरहनुभएको थियो ।'
बाबासँग कहिले कुरा मिलेन अंकलको
माधवका छोरा करण अर्कै फर्ममा काम गर्ने भएपनि बाबुआमा र भाई भेट्न आइरहन्थे । उनी आउँदा आफ्ना बाबु र अंकल झसेन्द्रको जहिले पनि विवाद हुन्थ्यो ।
'भैसीलाई घाँस हाल्ने कुरामा पनि झगडा हुन्थ्यो, काम गर्न अटेरी गर्ने गर्नुहुन्थ्यो अंकलले अनि बाबासँग झगडा पर्थ्यो, करण भन्छन्-सँगै बस्ने भएपछि मिलेर बस्न पर्छ भन्थे गाउँका अरु साथीहरुले तर केहीबेर मिल्ने अनि झगडा परिहाल्थ्यो ।'
यही जेठको १४ गतेतिर उनीहरुबीच भनाभन भयो । 'अंकलले बाबालाई धेरै गाली गर्नुभयो, तलाइँ काटिदिन्छु मारिदिन्छु भन्नुभयो-उनी भन्छन्-त्यसबेला अंकलले रक्सी खानुभएको थियो, गाउँका अर्का एकजना दाई पनि आउनुभएको थियो उहाँले सम्झाउनुभयो ।'
सिंजालीले जानकीलाई दिदी भन्थे । स्थानीयका अनुसार उनले जानकीसँग आफु एक्लै भएको र दु:ख पाएको पीडा सुनाइरहन्थे ।
स्थानीय दिपुष्पा चौधरी भन्छिन्-दिदी भनेर बोलाउँथे, म दु:खी भएँ दिदी, श्रीमतीले पनि छाडेर गइ, मलाई वास्ता गर्ने कोही छैन भन्थे, तर आज उनैले त्यसरी मारेछन् ।'
मेरो कोही भएन, म तपाइँको फर्ममा आउँछु भनेर जागिर दिएको हुँ
कोरोना भाइरसको संक्रमणका कारण लकडाउन भइसकेको थियो । एकदिन मैनहवानजिकैको गाउँ शिवपुरको रामु शाहनीको फर्ममा काम गर्न झसेन्द्र सिंजालीले गंगादेवी फर्मका सञ्चालक पुनलाई फोन गरे । 'दाई मेरो श्रीमतीले पनि छाडी, म एक्लै भएँ, मलाई तपाइँको फर्ममा काम दिनुस् भनेर फोन गर्यो-सिंजाली करीब २ महिनाअघिको कुरा सम्झिन्छन्-अनि ल ठीकै छ मलाई पनि काम गर्ने मान्छे भए राम्रै हो भनेर हुन्छ आउ भने ।'
उनी लकडाउनकै समयमा पुनको फर्ममा गए । 'आएर काम त राम्रै गरेको जस्तो लाग्थ्यो, दिनभर काम हुन्थ्यो, म पनि त्यति धेरैबेर यहाँ बस्दिनथेँ काम सकेपछि घर जान्थेँ, उनी भन्छन्-एकदमै कम बोल्ने गम्भीर स्वभावको जस्तो लाग्थ्यो ।' उनले कामदारहरुका बीचमा घटना नै हुने गरी खटपट भएको थाहा नपाएको बताए ।
पुनले परिवारसहित र एक्लै बस्नेलाई अलग्गै बस्ने व्यवस्था गरिदिएका थिए ।
'माधवको परिवार गेटनजिकको कोठामा र झसेन्द्र गोठनजिक सुत्थे, रमेशका साथीहरु आए भने गोठतिरै खेल्ने गफ गर्ने गर्थे, उनी भन्छन्-'म काम गरेर साथीको फर्ममा सुत्न जान्थेँ, उनीहरुको परिवार भएको ठाउँमा बस्नुभन्दा साथीसँग बस्दा गफ गर्दै बस्न मिल्ने भएकाले त्यतै बस्थेँ ।'
फर्म सञ्चालक पुनका अनुसार सोमबार राती १० बजेसम्म कुनै अनौठो आवाज थिएन फर्ममा । 'म खाना खाएर साथीको फर्ममा आएँ, १० बजेको थियो होला, एकैछिन गफ गरियो अनि सुतियो-सञ्चालक पुन भन्छन्-त्यस्तो कुनै आवाज आएको पनि सुनिएन ।'
फरुवाले हानेर हत्या, परालमा लुकेका थिए सँगै बस्थे साथी
सोही फर्ममा काम गर्ने सुर्खेत घर भएका ३१ वर्षीय झसेन्द्र सिंजाली परालमा लुकेर बसेका थिए । उनी अचेत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । घटनास्थलबाट एउटा फरुवा बरामद भएको छ । सिंजालीको सामान्य उपचारपछि प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको उनले बताए । प्रहरी नियन्त्रणमा रहेका सिंजालीले आफुले फरुवाले हानेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् ।
फरुवाकै प्रयोग गरेर हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खत्रीका अनुसार मृतकहरुको टाउको र घाँटीमा चोट लागेको देखिएको छ ।