बुटवल-रुपन्देहीमा सलह कीराजस्तै देखिने फट्याङ्ग्राको समूह देखिएको छ । शनिबार बिहान एकदुईवटा कीराहरु देखिएको खबर सरकारी अधिकारीहरुसम्म पुगेपनि दिउसो ठूलो संख्यामा कीराहरु उड्दै गरेको अवस्थामा देखिएको छ ।
रुपन्देहीको भैरहवा र बुटवल क्षेत्र, कपिलवस्तुको वाणगंगामा पनि फट्याङ्ग्रा आकारका कीराहरु देखिएका छन् । यस्ता कीराहरु उडेर दक्षिणबाट उत्तरतर्फ गइरहेका छन् ।
यी कीराहरु सलह नै हुन् या हैनन् भन्ने सरकारी स्तरबाट पुष्टि हुन सकेको छैन । प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले सलहकै जस्तो देखिने कीरा फेला परेको जानकारी किसान र सर्वसाधारणबाट आएकोले त्यसको अनुसन्धानमै लागेको बताए ।
'विज्ञहरुसँग बसेर हामीले यो कीरा सलह हो वा हैन भन्ने अध्ययन गरिरहेका छौं,-उनले भने-सलहको झुण्ड धेरै ठूलो हुने र १० किलोमिटरसम्म ढाक्नेगरी उड्ने हुन्छ, हामीकहाँ त्यस्तो ठूलो झुण्ड देखिएको छैन ।'
उनले रुपन्देहीको आकाशमा देखिएको सलह भएमा निरन्तर भइरहेको वर्षाका कारण ठूलो झुण्ड टुक्रिएर आएको हुनसक्ने बताए । 'सलह कीरा नै हो भने यो झुण्डबाट टुक्रिएर आएको हुनुपर्छ,-उनले भने । कीराका बारेमा अध्ययन र अनुसन्धान तथा यसलाई नियन्त्रण गर्नका लागि के उपाय अपनाउने भन्नेबारे निर्णय गर्न प्रदेश ५ को कृषि मन्त्रालयमा बैठक बसिरहेको छ ।