बुटवल-मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ। पछिल्लो ६ घन्टामा प्रदेश ५, २ र गण्डकीको धेरै स्थानमा भारी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ती प्रदेशका धेरैजसो स्थानमा पछिल्लो ६ घन्टामा ९० मिलिमिटरसम्म वर्षा भएको छ। जबकि २४ घन्टामा एक सय मिलिमिटर वर्षा हुनुलाई बर्खायाममा औसत मानिन्छ।
नारायणी जलाधारको नवलपरासी, चितवन, तनहुँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपास २४ घन्टामा भारी वर्षा मापन गरिएको छ।
नारायणी नदीमा पानीको बहाब बढ्न थालेको छ। र, तटीय क्षेत्रका बासिन्दालाई अलर्ट रहन आह्वान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले ती प्रदेशमा आगामी ६ घन्टामा पनि भारी वर्षा हुने चेतावनी दिएको छ। यसले प्रदेश १, २, ५ र गण्डकी भई बहने साना नदीमा बहाव खतरासम्म पुग्ने अनुमान गरिएको छ।
शुक्रबार बिहानको अपडेट अनुसार चितवनको माडी क्षेत्रमा भारी वर्षा मापन भएको छ। माडीका बनकट्टा, कल्याणपुर र आसपास पछिल्लो ३ घन्टा भारी वर्षा मापन भएको हो। रिउखोलामा जलसतह सतर्कता पुग्न सक्ने भन्दै माडी न नगरपालिका रिउखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
बर्दियाको गुलरिया, बाँकेको कोहलपुर,नेपालगञ्ज र ढेकेरी, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।