गुल्मी-शनिबार किरिया बसेको नौ दिन । श्रीमती र छोरा किरियामा थिए । आइतबार १० दिन हुने । त्यो दिन किरिया कर्मको लामो हुने भएकाले परिवार र आफन्त तयारीमा थिए । बिहान सात/आठ बजे पाल्पाको रैनादेवी छ्हरा गाउँपालिका १ अर्चलेमा किरिया गरिएका व्यक्ति जिवित फेला परे ।
उनी थिए रुरु गाउँपालिका ५ बम्घा बस्दै आएका ६६ वर्षिय श्यामशरण भण्डारी । उनी भेटिने बित्तिकै वडाध्यक्ष हरिप्रसाद ज्ञवालीलाई स्थानीयले खबर गरे । त्यहाँ पुगेका छिमेकी र गाउँलेहरुले मृत भनिएका भण्डारीलाई जिवित देखेर चकित परे ।
‘खबर पाएको केहिबेरमा अर्चले पुगेर मान्छे जिवित देख्दा अच्चम परियो,’वडाध्यक्ष ज्ञवालीले भने,‘किरिया बसेका नौ दिन भएका थिए ।’ त्यसपछि उनले आफन्त र प्रहरी प्रशासनलाई खबर गरेर ती व्यक्ति परिवारलाई लगेर शनिबार साँझ बुझाएको जानकारी दिए ।
उनी २०/२५ दिनदेखि घरमा थिएनन गुल्मीको रुरु गाउँपालिका ५ बम्घा बोटेगाउँका भण्डारी बिगत २०/२५ दिनदेखि घरमा थिएनन् । उनी गाउँमा सात/आठ बर्षदेखि एक्लै बस्थे । श्रीमती र छोरा रुपन्देहीको मणिग्राममा बस्छन् । छिमेकीका अनुसार उनीहरुको पारिवारिक सम्बन्ध राम्रो थिएन् ।
गाउँमा लामो समय हराएपछि छिमेकीले भण्डारीलाई गाउँ र आफन्तकोमा खोजे । वडा कार्यालय र प्रहरी प्रशासनमा जानकारी समेत गराए तर भेटिएनन् ।
जब बढिगाड नदीमा शब भेटियो
गत १९ असारमा रुरु क्षेत्र गाउँपालिकाको बम्घा र रिमुवा नजिक बढिगाड नदीमा एक पुरुषको शव खोलाले बगाएको अवस्थामा फेला पर्यो । शरिरमा लुगा नभएकाले चिन्न सजिलो थिएन। भण्डारी हराएकाले स्थानीयले अनुमान गरे शव उनकै हुनुपर्छ। प्रहरी र आफन्तलाई खबर भयो । त्यो शबसँग भण्डारीका धेरै कुरा मिलेकाले छिमेकी र परिवारले स्विकार गरेको छिमेकी धाता पाण्डेयले बताए ।
‘मान्छे सवै उस्तै थिए, मैले मात्रै होइन, परिवार र सिंगो गाउँले श्यामसरण भनेका हुन,’उनले भने,‘अहिले सपना जस्तै भएको छ ।’ गाउँ र परिवारले स्विकार गरेपछि प्रहरीले मुचुल्का गरे ।
भेटिएकै दिन प्राथमिक स्वास्थ्य केन्द्र खैरेनीमा शवको पोष्टमार्टम भयो । परिवार र छिमेकीले रुद्रवेणीको घाटमा २० असारमा दाहासंस्कार गरे ।
परिवारले धन्यवाद समेत दिएनन्
रुरु क्षेत्र गाउँपालिका १ रिडीबाट पत्रकार चुरामणी तिमिल्सेनासहितको टोली ती भेटिएका व्यक्तिलाइै लिएर परिवारसम्म गए । तिमिल्सेनाका अनुसार शनिबार साँझ ६ बजेतिर घर पुग्दा थुप्रै मान्छेको भिड थियो । केहिबेर आफन्तहरु डराए पनि । बुझाएको फोटो खिच्न पत्रकारले खोजेपनि स्थानीयले दिएनन् र कुनै प्रतिक्रया पनि जनाएनन् । धेरैबेर भनाभन समेत भयो ।
‘कस्तो अनौठो मान्छे भेटिएर घरमा पुराउँदा धन्यवाद समेत पाइएन,’-उनले भने,-‘परिवार भेटिएर खुसी देखिएनन, कारण भगवानले जानुन् ।’ मृत भनिएका श्यामसरण परिवारलाई बुझाएर पत्रकार तिमिल्सेनाको टोली फर्किएको छ ।
सानोबुवा जिवित भएको घटनाले आफुहरु पनि अचम्ममा परेको आफन्त बिष्णु भण्डारीले बताए । उनले आफुहरु थप तनाबमा भएको भन्दै धेरै प्रतिक्रिया दिन मानेन् ।
फेरि जाहेरी माग्छौ : प्रहरी
जिल्ला प्रहरी कार्यालय गुल्मीमा डिएसपी केदारराज पन्तले परिवारले हँचुवाका भरमा शव स्विकार गरेकाले समस्या भएको बताए । उनले परिवार छिमेकीहरुले शवको पहिचान गर्ने भएकाले सबै कानुनी प्रक्रिया सम्पन्न गरेर शवको पोष्टमार्टम गरिएको पन्तले बताए । ‘परिवारले फेरि मान्छे जिवित स्विकार गरेकाले पुन जाहेरी माग्छौ,-’उनले भने-‘त्यसपछि मात्रै हुलियासहित अर्को व्यक्तिको खोजी गर्छौ ।’