काठमाडौ-भारतको सीमामा रहेका सलहका झुण्डहरु नेपाल आउने सम्भावना बढेको छ। बिहार र उत्तर प्रदेशमा रहेका सलहका झुण्ड जतिसुकै बेला पनि नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वारेण्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले आग्रह गरे। सिमावर्ती क्षेत्रका विभिन्न ठाउँमा फैलिएका झुण्ड ठूलो सङ्ख्यामा भने नभएका उनले बताए।
थोरै सङ्ख्यामा पनि विभिन्न ठाउँमा छरिएर बसेका हुनाले हावाको गतिसँगै नेपाल आउने सम्भावना बढेको उनको भनाई छ। सलहको झुण्ड प्रदेश २ को सर्लाही तथा धनुषा, प्रदेश ५ र सूदूरपश्चिमबाट प्रवेश गर्ने सम्भावना छ।
हुमागाईंका अनुसार यो भन्दाअघि नेपाल आएका झुण्डहरु भने अहिले रुकुम पश्चिम तथा बाग्लुङ र म्याग्दीको सिमानामा केही मात्रामा देखिएका छन्।
प्रतिकूल हावापानीका कारण धेरै सलह तितरवितर भएका र केही मरेका हुन सक्ने उनको भनाई छ। बाग्लुङ र रुकुम पश्चिमबाहेक अरु ठाउँमा देखिएको खबर भने नआएको उनले बताए।
हावाको दिशा विपरीत सलह उड्न नसक्ने भएकाले हावाको चाप र दिशाकै कारण भारतबाट नेपाल प्रवेश गरेका र फेरि आउने सम्भावना रहेको उनले बताए।