बुटवल–प्रदेश ५ मा एक वर्षमा गाडी दुर्घटनामा परी ४ सय ८३ जनाको मृत्यु भएको छ। गत आर्थिक वर्ष २०७६/७७ मा भएको दुर्घटना अघिल्लो आर्थिक वर्षभन्दा १ सय ४० ले कम हो।
आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा ६ सय २३ जनाको मृत्यु भएको थियो। साढे ३ महिना भन्दा बढी लकडाउनको कारण सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको हुनसक्ने अनुमान गरिएको छ।
प्रदेश ५ मा मृत्यु हुनेको संख्या घटेपनि सवारी दुर्घटनाको दर भने बढेको छ। आर्थिक वर्ष २०७६/७७ मा १ हजार १ सय २२ वटा दुर्घटना भएको छ भने त्यस अघि २०७५ ७६ मा १ हजार २९ वटा दुर्घटना भएको थियो।
३ वर्षको तथ्यांक हेदा बर्सेनी सवारी दुर्घटना बढेको देखिन्छ। आर्थिक वर्ष २०७४/७५ मा प्रदेश ५ मा ८ सय ३५ वटा दुर्घटना भएको थियो। सवारी दुर्घटनामा परी गत आर्थिक वर्षमा १ हजार ५४ जना शख्त घाइते र ५ सय ५४ जना सामान्य घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
धेरै दुर्घटना रोल्पामा, मृत्यु गुल्मीमा
गत आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी रोल्पामा सवारी दुर्घटना भएको छ। रोल्पामा गत एक वर्षमा १ सय २३ वटा सवारी दुर्घटना भएको छ। त्यसपछि बाँकेमा १ सय १९, पाल्पामा १ सय ९, गुल्मीमा १ सय ८ जना रहेका छन्।
सवारी दुर्घटनामा परी मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीका रहेका छन्। गुल्मीमा गत आर्थिक वर्षमा ७९ जनाको ज्यान गएको छ। गुल्मीपछि पाल्पामा ५७ र बाँकेमा ५१ जनाको ज्यान गएको छ।
६७ चौपाया मरे
गत आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा परी ६७ वटा चौपाया मरेका छन्। सबै भन्दा बढी रुकुम पूर्वमा ३२ वटा चौपाया मरेका छन्। रुपन्देहीमा ११ र पश्चिम नवलपरासीमा ८ वटा चौपाया मरेको प्रहरीको भनाइ छ। ७ वटा चौपाया मरेका छन्।
यस्तै सवारी नियम उल्लंघन गर्ने १ लाख ७० हजार सवारी र चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाहीबाट १० करोड ६१ लाख राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।