काठमाडौं-रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन निवेदनको पेशी सुनुवाईका लागि तीन न्यायाधीशको बेञ्चमा तोकिएको छ। आइतबार हुनु सुनुवाईका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्णइजलाशमा पेशी तोकेका हुन्।
पत्नी गीता ढकालको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले कोइरालालाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। तर उक्त मुद्दा सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चले उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय तोक्ने र सम्पत्ति जफत नगर्ने निर्णय गरेको थियो।
गत असार १५ गते प्रधानन्यायाधीश जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको कैद ११ वर्ष ६ महिना घटाइदिएको थियो। जन्मकैद सजाय काटिरहेका काेइरालाको मुद्दामा सर्वोच्चले फैसला गर्दै ११ वर्ष कैद घटाइ दिएपछि उनी गत बिहीबार रिहा भएका थिए।
यो फैसलापछि सार्वजनिक रुपमा आलोचना भइरहेको छ। सर्वोच्चको फैसलालगत्तै सरकारले मुद्दा पुनरावलोकनका लागि निवेदन दिएको थियो । रञ्जनलाई गलत मनसायले कैद सजायमा छुट दिइएको र सर्वोच्चकै नजिर विपरीत भएको भन्दै सरकारले पुनरावलोकनको निस्सा माग गरेको थियो। सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो।
सार्वजनिक विदाको दिन भएपनि शनिवार नै उक्त मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो। आज तीन जना न्यायाधीशको बेञ्चमा परेको पुनरावलोकनको निवेदनले निस्सा पाएको खण्डमा उक्त मुद्दामाथि फेरि बहस र छलफल हुनेछ।