काठमाडौं-नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत चार जना प्रहरीमा कोरोनाभाइरस संक्रमण भएको छ।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरज शाहीका अनुसार चार जनामा कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरूको स्वाब निकालिएको थियो। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको बताए।
'कोरोनासँग मिल्ने लक्षण देखिएपछि हामीले चार जना प्रहरीको स्वाब प्रहरी अस्पतालमा पठाएका थियौं,' उनले भने,' उताबाट अन्तिम परीक्षणको लागि टेकू पठाएका छन्।'
स्रोतका अनुसार प्रधान कार्यालयको सवारी शाखाका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि अहिलेसम्म १२० जना प्रहरीलाई कोरोना संक्रमण भएको छ भने तीमध्ये १०० जना निको भएका छन्।