काठमाडौ-सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर भएका पूर्व डीआइजी रञ्जन कोइरालाको जन्मकैद घटाउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ।
कोइरालाको सजाय घटाउने सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको निष्कर्षसहित महान्यायाधिवक्ताको कार्यालयले उनी रिहा भएकै दिन पुनरावलोकन निवेदन दर्ता गराएको थियो।
न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले कोइरालाको जन्मकैदको सजाय ८ वर्ष ६ महीनामा झार्ने सर्वोच्च अदालतको १५ असारको फैसलालाई पुनरावलोकन गर्ने फैसला गरेको हो।
सर्वोच्चको फैसलापछि ८ साउनमा कोइराला डिल्लीबजार कारागारबाट छुटेका थिए। त्यसैदिन महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला कानून र नजीर बिपरीत भएको भन्दै पुनरावलोकनको निवेदन दर्ता गराएको थियो। त्यसपछि आजलाई पेशी तोकिएकोमा तीन न्यायाधीशको पूर्ण इजलासले फैसला पुनरावलोकन गर्ने निर्णय गरेको हो।
१५ असारमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई जन्मकैद गर्दा चर्को पर्ने र ८ वर्ष ६ महीना मात्रै कैद गर्दा पनि सजायको मक्सद पूरा हुने भन्दै उनको सजाय घटाउने फैसला दिएको थियो।
इजलाशको अनुमतिपछि अब कोइरालाको मुद्दा फेरि अदालती प्रक्रियामा प्रवेश गरेको छ।
अब हुने सुनुवाइमा प्रधानन्याधीशसहितका न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, सुष्मालता माथेमा, डाक्टर मनोजकुमार शर्मा, डाक्टर आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लसहित आजको इजलाशमा सहभागी न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी लगाएतका १० जना न्यायाधीशहरूले हेर्न नमिल्ने सर्वोच्चले जनाएको छ।
अदालतमा रहेका १९ जना न्यायाधीशमध्ये १० जनाले हेर्न नमिल्ने भएपछि बाँकी ९ जनामध्येका पाँच जनाले मुद्धाको सुनुवाइ गर्नेछन्।