बुटवल-केही दिन कमजोर रहेको मनसुन सोमबारदेखि पुन: सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वायुसँगै नेपालको दक्षिण भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले गतिविधि सक्रिय भएको मौसमविद सजिना शाक्यले जानकारी दिएकी छन्।
अहिले देशभर सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा निरन्तर वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद शाक्यले बताइन्।
प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने जनाइएको छ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । बेलुकादेखि मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने मौसमविदले बताएका छन्।
देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, भूक्षय हुने तथा डुबानको सम्भावना रहेकाले सतर्ककता अपनाउन मौसमविदले आग्रह समेत गरेका छन्।
तिनाउमा अलर्ट जारी
बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा पानीको सतह खतराको तहसम्म बढ्ने भन्दै सतर्क रहन आह्वान गरेको छ।
सोमबार बिहानै महाशाखाले सूचना जारी गर्दै भनेको छ–‘तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेकाले कञ्चनखोला, तिनाउखोलाको तटीय क्षेत्र र कन्चनखोला आसपासका साना खोलामा बाढी आउन सक्छ, बिहान १० बजेसम्म सतर्क रहौं।’
अहिले यो क्षेत्रमा भारी वर्षा भइरहेको छ। यस नदीको तटीय क्षेत्रमा झण्डै १२ हजार मानिसहरु बसोबास गर्छन्। सुुकुुम्बासीको नाममा नदीको बहाव क्षेत्र खुुम्चाएर बस्ती बस्दा तिनाउ नदी साघुुरिँदै गएको छ।
सोमबारदेखि लगातार चार दिन ठूूलो पानी पार्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। प्रदेश ५ मा पनि ठूूलो पानी पर्ने विभागले जनाएको छ। इलाका प्रहरी कार्यालय बुुटवलका प्रमुुख डिएसपी प्रतित सिंह राठोरले अहिले तिनाउमा पानीको सतह खतरा नजिक आइनपुुगेपनि सर्तक रहन आग्रह गरे।