बुटवल-सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-तानसेन सडक खण्ड फेरि अवरुद्ध भएको छ। पाल्पाको तिनाउ गाउँपालिका ३ नागमन्दिर र सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेर सडक पूर्ण रुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
बिहान साढे ५ बजे खसेको पहिरो हटाउनका लागि प्रयास भैरहेको प्रहरीले जनाएको छ।
सिद्धार्थ राजमार्गको यो खण्ड दिनदिनैजसो बन्द हुने गरेको छ। करीब ५ किलोमिटर खण्ड अतिजोखिम क्षेत्रका रुपमा चिनिन्छ। निरन्तर वर्षा भएकाले यो क्षेत्रको जमीन कमजोर भएकाले निरन्तर पहिरो खस्ने गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यो सडक खण्डको करीब ५ किलोमिटर दुरीमा वर्षेनी ३ देखि ४ जनाले ज्यान गुमाउँछन्।
आर्थिक वर्ष २०७०/०७१ मा ११ जना, २०७१/०७२ मा ५ जना, २०७२/०७३ मा ४ जना, ०७३/०७४ मा २ जना, २०७४/०७५ मा ४ जना, २०७५/०७६ मा ३ जनाको मृत्यु भएको तथ्यांक प्रहरीसँग छ।
आर्थिक वर्ष २०६८/०६९ देखि ०७६/०७७ सम्ममा तल्लो सिद्धबाबादेखि दोभानको प्रहरी चौकीसम्मको दुरीमा ४० जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३४ जना गम्भीर घाइते भए, १३ जना घाइते भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सो क्षेत्रमा ७१ वटा सवारी ५३ वटा दुर्घटनामा परी ४४ वटा गाडीमा क्षति भएको थियो। जसमध्ये मोटरसाईकल २३ वटा, ट्रक, जीप र कार १७–१७ वटा, बस १३ वटा र एउटा टेम्पो दुर्घटनामा परेका थिए।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी डम्बरबहादुर विश्वकर्माले यो क्षेत्र दुर्घटनाको जोखिम क्षेत्र रहेको बताए। ‘बर्खायाम शुरु भएपछि यो क्षेत्रमा पहिरो खसेर दुर्घटना हुने गरेका छन्, उनले भने–हामीहरु हरेक दिनजसो यो क्षेत्रमा खस्ने पहिरो व्यवस्थापनमै जुट्नुपर्छ।’ उनले बर्खायाममा सकेसम्म यो सडकमा यात्रा नगर्न आग्रह गरे।