भैरहवा–धान रोपाइँ सकिएर किसान गोडमेल र मलखादको जोहोमा छन्। धान सप्रेर खेत हरियाली हुदै गइरहेको बेला लोपोन्मुख चरा सारस पनि आफ्नो सन्तान बढाउने क्रममा छ। अहिले सारसले अण्डा दिने र कोरल्ने समय हो। जुन र जुलाईमा धानका खेतमा चहलपहल न्यून हुन्छ, सोही समयको फाइदा उठाउँदै सारसले वषेर्नी अण्डा कोरल्न ओथारो बस्छ।
बुद्ध जीवनकालको पन्छीको रुपमा रहेको विश्वमा दुर्लभ मानिने चरा सारसको रैथाने प्रजाति रुपन्देहीको लुम्बिनी आसपासका क्षेत्रमा बस्छन्। तराईको सबैभन्दा पूरानो जीवको रुपमा मानिने सारस नेपालभर करिब ५ सयको हाराहारीमा छन्।
जसमध्ये लुम्बिनी क्षेत्रमा मात्रै करिब ३ सय छन्। लुम्बिनी विकास कोेष लोपन्मुख चरा (बुद्धपन्छी)को संरक्षणमा लागेको छ।
कोषले दिएको जानकारीअनुसार दुर्लभ यो पन्छी नेपालको रुपन्देही र कपिलवस्तु क्षेत्रमा मात्रै ९० प्रतिशत छ। ‘यो पन्छी अन्तराष्ट्रिय ख्यातिप्राप्त र दुर्लभ पन्छी हो, स्थानीयलाई सचेत गराउँदै यसको संरक्षणमा जुटेका छौं, गतवर्षदेखि विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिका मिलेर अभियान बढाएका छौं, लुम्बिनीभित्र अन्तर्राष्ट्रिय सारस संरक्षण आरक्ष निर्माण गरिएको छ’–लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेशकुमार त्रिपाठी)ले भने।
सारसले एक वर्षमा अधिकतम दुई वटा अण्डा पार्छ। जुलाईमा प्रायः धान खेत र सिमसार क्षेत्रमा करीब ३५ दिनको ओथारो बसाइपछि चल्ला निस्किन्छन्। अण्डामा कुनै प्रकारको हानि नोक्सानी नहोस् भन्नका लागि एकान्त खेतको बीच भागमा बसेर अण्डा कोरल्छ। पोथी अण्डाको नजिकै र वरिपरि बस्छ भने भाले अलि टाढा–टाढा बसेर पोथी र अण्डाको सुरक्षा गर्छ। ओथारो बस्ने समय माउहरु नजिकको जीव पनि खादैनन्, सुरुमा चल्ला हिड्न सक्दैन भनेर टाढा–टाढा गएर आफ्नो पेट पाल्छन्। नजिकको चल्लालाई खुवाउँछन्।
चल्ला बढ्दै गएपछि जोडी नपाउञ्जेल माउसँग बस्छन्। वरिपरिका जीव खाँदै प्रतिदिन १ इञ्चको हाराहारीमा बढ्ने चल्ला आफै हिड्न र उड्न नसकुञ्जेल सम्म माउ छोडेर जादैन। एक महिनामा हिड्न सक्ने सारस केही महिना माउ सँगै बस्छ, आफ्नो जीवन निर्वाह गर्न सक्छ भन्ने लागेपछि माउले सारसको झुण्डमा सहभागी गराई जोडी नपाउञ्जेलसम्म साथ र संरक्षण गर्छ।
वर्ष दिनको हाराहारीमा पुगेपछि झुण्डमा जोडी बन्यो भने आजीवन सँगै हुन्छ, कुनै एकको मृत्यु भएमा अर्कोले फेरि जोडी बनाउँदैन। सोही कारणले नै यसलाई प्रेम र शान्तिको प्रतिक मानिन्छ।
भाले पोथी भन्दा केही आकारमा ठूलो हुन्छ। सारसको अण्डा हाँसको अण्डा भन्दा केही मात्र ठूलो हुन्छ।
सरकारले पनि सारसलाई संरक्षित पंक्षीको रुपमा राखेको छ। सारसको बासस्थान ताल तथा सिमसार क्षेत्र हो। मानवीय क्रियाकलापले सारसको बास स्थानमा जोखिममा पर्दै गइरहेको छ। शहरीकरण, वायु प्रदुषण, खेतमा विषादीहरुको प्रयोग, जलप्रदुषण लगायतका कारण सारसको जीवन संकटमा पर्दै गएको संरक्षणकर्मीहरु बताउँछन्।
लुम्बिनीको नगर पन्छी समेत रहेको यो चराको संरक्षणमा स्थानीय युवा, लुम्बिनी विकास कोष, लुम्बिनी सांस्कृतिक नगरपालिकाले अभियान चलाएपनि बढ्दो मानवीय क्रियाकलाप र बस्ती विकासले प्रजननमा समस्या सिर्जना हुँदै गएको छ ।
बुद्धसँग सारसको साईनो
बौद्धमार्गीहरुका अनुसार बुद्ध र सारसको सम्बन्ध छ। यसक्षेत्रमा सारसकै अध्ययन अनुसन्धानका लागि विदेशबाट पनि वर्षेनी पर्यटकहरु आउने गर्छन्। बौद्ध धर्मग्रन्थमा सिद्धार्थ गौतम र दाजु देवदत्तबीच यही पन्छीलाई लिएर उत्पन्न विवादको प्रसंग छ। जसले पनि यो पन्छीको प्राचीन बासस्थानको क्षेत्र लुम्बिनी–कपिलवस्तु हो भन्ने आधार छन्।
सन् २००६ मा लुम्बिनी आसपासमा १८ वटा साना ठूला तालहरु थिए, अहिले ६ वटा मात्र छन्। सारसको संख्या बढाउन यस्ता सिमसार क्षेत्रको संरक्षण गर्दै वातावरणलाई असर पर्ने मानविय क्रियाकलाप रोक्न आवश्यक रहेको संरक्षणकर्मीहरु बताउँछन्।
ग्रीन युथ क्लब लुम्बिनीले पनि वातावरण संरक्षण र सारस जोगाउने काममा सहकार्य गर्दै आएको छ। किसान नभई सारसको संरक्षण सम्भव नभएकोले सारसको संरक्षण लागि समुदायस्तरमा सचेतनामुलक कार्यक्रम, ३० वटा इको क्लब परिचालन गरी संरक्षण गर्ने, प्रहरी–युवाबीचको सहकार्यमा सारसलाई उद्धार गर्ने काम गरिरहेको क्लबका अध्यक्ष अर्जुन कुर्मीले बताए।
‘पहिला खेतबाट नै अण्डा चोर्ने, सारस मार्ने प्रवृति रहेपनि अहिले त्यो अवस्था छैन, मानिसहरु जागरुक भएका छन्–उनले भने–बास स्थान जोगाउन सिमसार क्षेत्रको संरक्षणमा स्थानीय सक्रिय छन्।’