गुल्मी–रङरोगनले चिटिक्क। दुई कोठे पक्की घर। त्यो पनि भुकम्प प्रतिरोधी। घरसँगै जोडिएको आधुनिक शौचालय। नयाँ घर पाएपछि सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेककी ८१ बर्षीय खगी सिंजाली निकै खुसी छन्।
गतवर्ष सिंजालीको घर पहिरोले पुर्यो। त्यो दिन आफन्तकोमा भएकाले ज्यान मात्रै बच्यो। थुप्रै महिना कष्टले बिते। सिङ्गो गाउँनै बिस्थापित भएकाले तत्काल व्यावस्थापनको कुनै विकल्प थिएन। उनी गोर्खा वेल्फेयरको पेन्सनर भएकाले दुःखमा ठूलो साथ पाइन्।
कोरोना संक्रमणसंगै लकडाउनले काम गर्न सजिलो थिएन। तर मुस्किलले काम गरेर भएपनि बर्खामा घर बन्यो। ‘नयाँ घरमा टाउको ओत्न पाएँ निकै खुसी छु, वेल्फेयर दुःखको सारथी बन्यो–उनले भनिन्–बल्ल ढुक्कले सास फेरेँ।’ सोही स्थानकी वसन्ती थापाको पनि पहिरोले घरमा वस्ने अवस्था थिएन। देवरकोमा लामो समय बसिन्। उनी पनि गोर्खा वेल्फेयरको पेन्सनर हुन्। अहिले नयाँ घर पाएकी छन्।
गोर्खा वेल्फेयर ट्रष्ट गुल्मीले पेन्सनरको घर पहिरोले बगाए, जोखिममा परे वा जिर्ण भएमा बनाइदिने गर्छ।
उनीहरु बसेका गाउँका विद्यालय, खानेपानी तथा पुल निर्माणको काम गर्दै आएको छ। आर्थिक बर्ष ०७६/०७७ मा गोर्खा वेलफेयर ट्रष्टले सत्यवती गाउँपालिकामा दुई, मालिकामा दुई, मदाने, धुर्कोट, कालीगण्डकी र गुल्मी दरवार गाउँपालिकामा एक÷एक जनाको गरेर १० जनाको घर निर्माण गरिएको गोर्खा वेल्फेयर ट्रष्ट गुल्मीका प्रोजेक्ट सुपरभाइजर इन्द्र बहादुर ढेंगाले जानकारी दिए।
त्यस्तै संस्थाले पहिरोले क्षतिग्रस्त सत्यवति गाउँपालिका वडा नं ३ ठूलोलुम्पेकको मनकामना आधारभुत विद्यालयको मर्मत सम्भारमा ठुलो सहयोग गरेको छ।
पहिरोले पुरिएको विद्यालयको ग्राउण्ड फिलिङ्ग गर्ने, विद्यालयको कोठा तथा झ्याल ढोका मर्मत, फर्निचर र जस्ता पाता गरेर करीब १० लाखको सहयोग गरेको ढेंगाले बताए। त्यो सँगै जिल्लाका विभिन्न बिद्यालयहरुमा फर्निचर सहयोग र मर्मतको थुप्रै काम गरिएको उनले बताए।
गोर्खा वेल्फेयर ट्रष्ट गुल्मीको समन्वयमा क्याडुरी मार्फत सत्यवती गाउँपालिका ८ मा भार्से खानेपानी योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। डेढ करोड भन्दा बढीको लागतमा एक सय ८२ घरमा ‘एक घर एक धारा’ निर्माण गरिएको सत्यवती गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सन्त बहादुर थापाले बताए।
त्यस्तै कालिगण्डकी गाउँपालिकाका ६ खड्गकोटको तुपुङ्गमा डेढ करोड भन्दा बढीका योजना निर्माण गरिएको गोर्खा वेल्फेयर ट्रष्ट गुल्मीले जनाएको छ।
तीन खानेपानी योजनाबाट दुई सय ४० घर परिवार प्रत्यक्ष लाभाम्बित भएको गोर्खा वेल्फेयर ट्रष्ट गुल्मीका इन्चार्ज गमबहादुर थापाले जानकारी दिए। ट्रष्टकै लगानीमा मालिका गाउँपालिका ७ घमिर र ८ मरभुङ्ग जोडने गरि झोलुङ्गे पुल निर्माण गरिएको छ। पुल निर्माण भएपछि दुई गाउँ नजिक भएका छन्।
वृद्धवृद्धा, बालबालिका, विद्यार्थी तथा बर्खामा खोला तरेर वारपार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयको जोखिम पुल बनेपछि अन्त्य भएको मालिका गाउँपालिका ७ घमिरका वडाध्यक्ष बेदप्रसाद पन्थीले जानकारी दिए।
यो वर्ष पनि गोर्खा वेल्फेयर ट्रष्ट गुल्मी जिल्लाका विभिन्न स्थानमा १० वटा घर, एक विद्यालय निर्माण, सात मर्मत तथा नौ खानेपानी योजना निर्माण गर्ने गरेर माथिल्लो निकायमा प्रस्ताव पेश गरिएको ट्रष्ट गुल्मीका इन्चार्ज गमबहादुर थापाले जानकारी दिए।
उनले आफुहरुले विकास निर्माणको कामसँगै नागरिकका दुःखमा राहत वितरण तथा घर दैलो स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए।
‘गुल्मेली आम नागरिक र जनप्रतिनिधीको राम्रो सहयोग र समन्वय पाएका छौ,–इन्चार्ज थापाले भने,–गोर्खा वेलफेयर ट्रष्टले लामो समयसम्म जिल्लाका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ।’
यो वर्ष कोरोना संक्रमणसँगै लकडाउनले काम गर्ने सहज स्थिति नभएपनि वार्षिक उद्देश्य लगभग पूरा गरिएको ट्रष्टले जनाएको छ। थापाले आफुहरु नागरिकको दुःख सधै सकारात्मक भएकाले समुदायिक विकासको भावनामा सवैको सद्भाव आवश्यक रहेको बताए।