गुल्मी-गुल्मीको चन्द्रकोटमा ३ जनाको शव फेला परेका छन् । शनिवार बिहान चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ पोखरी भन्ने स्थानमा अन्दाजी २७ वर्षिय महिला र अन्दाजी ७ र ८ वर्षका २ बालकका बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंह खड्काले बताए ।
टाउकोमा चोट लागेकाले उनीहरूको हत्या गरेको आशंका गरिएको छ । शव विभत्स अवस्थामा रहेको छ । कच्ची सडकबाट ४ मिटरको दुरीमा बेवारिसे अवस्थामा महिलाको शव र सोही स्थानबाट १ मिटर दुरीमा २ वटा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।
शबलाई पोष्टमार्टम लगायत घटनाको स्थलगत अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक सहितको टोली पठाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए । बेवारिसे अवस्थामा फेला परेको शवको पहिचान र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि सदरमुकाम तम्घास लग्ने प्रहरीले जनाएको छ । घटनास्थल तम्घासबाट ७० किलोमिटर उत्तर पुर्वमा पर्छ ।