गुल्मी–गुल्मी सदरमुकाम तम्घासकै सरकारी कार्यालयका कर्मचारी अटेरी देखिएका छन्। जिल्ला प्रशासन कार्यालय गुल्मीले साउन १३ र १४ गते कार्यालयहरुको अनुगमन गरेको थियो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीको नेतृत्वमा २१ कार्यालयको अनुगमन गरिएको थियो। अनुगमनको क्रममा सरकारी पोशाक नलगाएका कर्मचारी ३४ जना भेटिएका छन्।
कर्मचारीले कार्यालयमा आएर हाजिरी नगर्ने र परिचय पत्र नलगाउने समस्या पनि उत्तिकै रहेका छन्।
सरकारले निर्धारण गरेको पोशाक नलगाउने २२ जना र अधिकांशले परिचय पत्र नलगाउने गरेको पाइएको प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए।
त्यस्तै काजमा रहेका ३०, बिदामा १७, कार्यालय समयमा उपस्थित नभएका र बिदा स्वीकृत नगराई बिदा बसेका ४ जना कर्मचारी भेटिएको पन्थीले बताए।
बेरुजु पछ्यौट नगरेका तीन र उजुरी पेटिका नभएका कार्यालय दुई वटा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले कार्यालयहरुमा सुशासन सेवाप्रवाहलाई भरपर्दो बनाउने अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए।
शर्माले राष्ट्रसेवक कर्मचारीहरुहरु आफैमा अनुशासित र मर्यादित हुनुपर्ने भएकाले सुरुमा सचेत मात्रै बनाइएको बताए।