बाँकेमा–बाँकेमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। आइतबारदेखि बाँके जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।
बिहीबार एकैपटक २७ जनामा कोरोना देखा परेपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालिन बैठकले उक्त निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले समुदायस्तरमै कोरोना देखा परेकाले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी रहने जानकारी दिए।
नेपालगञ्जको व्यस्त बजार त्रिभुवनचोकको मिठाई पसल र सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालयमा गरी एकै दिन २७ जनामा कोरोना देखा परेपछि स्थानीय प्रशासन झस्किएको छ।
भारतबाट फर्किएका र क्वारेन्टाइनमा बसेका व्यक्तिलाई मात्रै कोरोना देखिने गरेकोमा पछिल्लो दिनमा नेपालगञ्जमा घरमा बसेका, पसलमा काम गर्ने, सरकारी कार्यालयका कर्मचारी, एनजिओकर्मीमा कोरोना देखा परेको छ।