बुटवल–केही दिनयता सुनको भाउ उकालो चढेर नयाँ–नयाँ रेकर्ड कायम भैरहेको छ। बिहीबार सुनको मूल्य एक लाख नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ छ। काठमाडौको मूल्यभन्दा बुटवलमा केही बढी हुने गरेको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विश्वकर्माले बताए।
‘बुटवलमा आज बिहीबार सुनको मूल्य एकलाखमा दुईसय रुपैयाँ मात्र कम अर्थात ९९ सय हजार ८ सय छ–उनले भने–दुरीका कारण काठमाडौंमा तोकिएको मूल्य भन्दा यहाँ केही बढी हुन्छ।’
कोरोना भाइरसको महामारी र लकडाउनको कारण सुनको कारोबार यसै पनि ठप्प छ। त्यसमाथि दिन प्रतिदिन मूल्य वृद्धिका कारण सुन किन्ने ग्राहक पसलमा देखिदैनन्। धेरै गहना पसलमा बोहनी समेत हुन नपाएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष एमबी विश्वकर्माले बताए।
‘सामान्य अवस्थामा मेरो राम्रै चहलपहल हुने पसल हो । अहिले धेरै दिन त बोहोनी नै नभएको अवस्था छ–उनले भने–अरु धेरै व्यवसायीहरुको त्यही गुनासो छ।’
कोरोना र लकडाउनको कारण सिंगो मुलुकमा नै आर्थिक संकट छ। रोजगारीमा प्रत्यक्ष असर परेको छ। आर्थिक संकटका कारण सुन किन्ने भन्दो बेच्नेहरुको संख्या निकै बढेको सुनचाँदी व्यवसायी संघका जिल्ला अध्यक्ष एमबी विश्वकर्माको भनाइ छ।
‘यस्तो बेलामा सरसापट पनि चल्दैन, बैंकमा पनि पैसा हुँदैन, मान्छेले झलझली आफ्नो गहना देख्न थाल्छन्–उनले भने–अहिले प्रत्येक दिन गहना बेच्न भनेर ग्राहक नआएको कुनै सुनपसल छैन होला सायद।’
सुन बेच्ने ग्राहक आएपनि आफूहरुले तुरुन्त नगद दिन सक्ने अवस्था नभएको विश्वकर्माले बताए। उनले आफूहरुको बिक्री नभएकाले ग्राहकहरुलाई किस्ता किस्ता गरेर रकम दिनुपर्ने अवस्था रहेको सुनाए।
‘आफूहरुले किनेको ठाउँमा बेच्न पर्दा पनि लिइदिन पर्छ भन्ने ग्राहकहरुमा हुन्छ। तर हाम्रो क्रयशक्ति छैन–उनले भने–आजै मात्र तीन तोला सुन लिइदिन पर्यो भनेर एक जना ग्राहक आउनुभयो, पैसा तुरुन्त दिनुहोस् भन्नुहुन्छ, दिन सक्ने अवस्था छैन।’ विश्वकर्माले दिनहुँ चार पाँच जना जति ग्राहक गहना बेच्न भन्दै आफ्नो पसलमा आउने गरेको सुनाए।
सुनचाँदी व्यवसायी संघ बुटवलका अध्यक्ष दीपक विश्वकर्माले लकडाउन अघिको सामान्य अवस्थाको तुलनामा अहिले त्यसको ४ प्रतिशत पनि कारोबार नभएको बताए। कारोबार नभएपछि कतिपयले सुनचाँदी पसल पनि नखोलेको उनको भनाइ छ।